
मकवानपुर । कारागारबाट भागेका १ जना कैदीको शुक्रबार राति हत्या भएको छ । चितवनको कालिका नगरपालिका–४ पदमपुर घर भएका २८ वर्षीय नारायण कुमालको हत्या भएको हो ।
कुमालको पूर्वी नवलपरासीस्थित गैँडाकोटमा हत्या भएको प्रहरीले जनाएको छ । कुमाल मकवानपुरको भिमफेदी कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।
जेनजी आन्दोलनको मौका छोपेर उनी भदौ २४ गते फरार भएका थिए । कारागारबाट भागेका कुमालको गैँडाकोट नगरपालिकास्थित इँट्टा भट्टानजिकै करिब ८ जनाको समूहले धारिलो हतियार प्रहार गरेर हत्या गरेको पूर्वी नवलपरासीका एसपी युवराज खड्काले जानकारी दिए ।
खड्काका अनुसार कुमालको हत्या आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको छ । जबरजस्ती करणी (बलात्कार) मुद्दामा उनलाई अदालतले कसुरदार ठहर गर्दै १० वर्ष कैद र ३५ हजार जरिबाना हुने फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि कैद सजाय भुक्तान गरिरहेका उनी भदौ २४ गते अन्य कैदीबन्दीसँगै भागेका हुन् । उनलाई बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले २०७४ साउन ३ गते पक्राउ गरेको थियो ।

























