
काठमाडौँ । भालुको पित्तजस्तो देखिने आखेटोपहारसहित दुई जनालाई काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ ।
संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी किनबेच गर्न लागेको भन्ने सूचनाको आधारमा टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरू कालिकोट खाँडाचक्र नगरपालिका–६ बस्ने २५ वर्षीय रमेश बहादुर शाही र २८ वर्षीय कृष्ण बहादुर शाही छन् । उनीहरूलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।
उनीहरूको साथबाट ५६८ ग्राम तौल भएको २ थान भालुको पित्त जस्तो देखिने आखेटोपहार बरामद गरिएको छ । पक्राउ परेका व्यक्तिहरूलाई बरामद सामानसहित थप आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार बुझाइएको छ।

























