
काठमाडौँ। नेपाल पर्यटन बोर्डले आगामी केही दिन उच्च हिमाली र पहाडी क्षेत्रको यात्रामा नजान पर्वतारोहण, ट्रेकिङ टोली र पर्यटकहरूलाई विशेष आग्रह गरेको छ। मौसममा आएको बदलावका कारण सतर्क रहन भन्दै बोर्डले सूचना जारी गरेको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालको मौसममा देखिएको छ। यसका कारण देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। खासगरी, गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशका उच्च हिमाली र पहाडी भेगमा कात्तिक १० देखि १२ गतेको बीचमा भारी वर्षा र हिमपातको अनुमान गरिएको छ।
बोर्डले पर्वतारोहण र ट्रेकिङ समूहहरूलाई स्थानीय प्रशासन र गाइडसँग समन्वय गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गरेको छ। मौसम सुधार नहुँदासम्म सुरक्षित आश्रयस्थलमा बस्न र कुनै कठिनाइ आएमा तुरुन्त स्थानीय प्रशासन वा पर्यटक प्रहरीलाई सम्पर्क गर्न भनिएको छ।
पाहुनाको सुरक्षाको ख्याल राख्दै आवश्यक आश्रय र सहुलियत उचित मूल्यमा उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ। खराब मौसम र सुरक्षाको दृष्टिकोणले अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ मार्ग शुक्रबार साँझसम्मका लागि अस्थायी रूपमा बन्द रहने बोर्डले जनाएको छ।
बोर्डले गण्डकी प्रदेश र अन्य सम्बन्धित निकायहरूलाई पर्यटकको सुरक्षाका लागि समन्वय गर्न र सबै सरोकारवालालाई जल तथा मौसम विज्ञान विभागकाे आधिकारिक जानकारी नियमित अनुगमन गर्न आग्रह गरेको छ।

























