
विराटनगर । झापा, मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानहरूबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित ट्याब्लेट एम्पुल सहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।
झापाको मेचीनगर नगरपालिका–६ बाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले नुवाकोटका २७ वर्षीय राम बहादुर तामाङलाई १७ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
यस्तै, सुनसरीको कोशी गाउँपालिका-१ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले धादिङका ३० वर्षीय बिष्णु अधिकारीलाई ९ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले मोरङको केराबारी गाउँपालिका–८ का १९ वर्षीय आशिष श्रेष्ठ लाई विराटनगर–१५ बाट ३ ग्राम १८ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यसैगरी, सुनसरीको धरानमा लागूऔषध ट्रामाडोल (२१० क्याप्सुल) र नगद १ लाख ३० हजार रुपैँया सहित बेचबिखनमा संलग्न लक्ष्मण परियार, सन्दिप राई र सन्देश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
यता, प्रहरी चौकी बाहुनीले बेलबारी नगरपालिका–७ बाट बेलबारी–६ का जीवन सरदारलाई ट्रामाडोल र डाईक्लोमाईन गरी ५५ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका–७ बाट बेवारिसे अवस्थामा १२२ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको जनाएको छ ।
पक्राउ परेका सबै व्यक्तिहरू र बरामद लागू औषधहरूका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

























