लेटाङकी १३ वर्षीया अंशुको हत्या : अनुसन्धानमा अलमलियो प्रहरी

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २०, बिहीबार १७:०६

विराटनगर । मोरङको लेटाङकी १३ वर्षीया अंशु गौतमको शव भेटिएको १३ दिन भयो । असोज २१ गते साँझ घरनजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएकी उनी १८ दिनपछि मृत फेला परेकी थिइन् ।

शव फेला परेपछि अनुसन्धानमा लागेको प्रहरी यतिका दिनसम्म पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन । घटनासँग सम्बन्धित कुनै खास संकेत पत्ता लगाउन नसक्दा अनुसन्धान नै अलमलमा परेको छ ।

लेटाङ नगरपालिका-२, स्कुलचोककी अंशु गत असोज २१ गते साँझ तिहारका लागि घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएकी थिइन् । १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी बनभित्र उनको शव क्षतविक्षत र कपडाविहीन अवस्थामा फेला परेको थियो ।

शवको अवस्था अत्यन्तै सडेको, शरीर टुक्रिएको र टाउको छुट्टिएको प्रकृतिको थियो । घटनास्थलमा भेटिएको चप्पल र कपडाका आधारमा आफन्तले शव पहिचान गरेपछि डीएनए परीक्षण गर्दा पुष्टि भएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकाले पनि शव भेटिएको दुई साता बितिसक्दा पनि अपराधी पत्ता लगाउन सकेको छैन ।

मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो सहित प्रदेश र जिल्लाको टोली खटिए पनि शव अत्यधिक सडिसकेकाले जटिलता आएको बताउँछन् ।

शव १८ दिनसम्म ‘डिकम्पोज’ भएको कारण मेडिकल्ली बलात्कारको प्रुफ पुष्टि गर्ने अवस्था नरहेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले डीएसपीको नेतृत्वमा टोली खटाएर सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको कटवालको भनाइ छ ।

स्थानीयहरू हतियार प्रयोग गरेर हत्या गरिएको र बलात्कार भएको दाबी गर्छन् । प्रहरीले भने शरीर टुक्रिनुमा जंगली जनावरको आक्रमण पनि हुन सक्ने आशंका व्यक्त गरेको छ ।

अंशु असोज २१ गते बेलुकासम्म पिङनजिकै देखिएकी थिइन् । त्यसपछि उनको अत्तोपत्तो थिएन । प्रहरी स्रोतका अनुसार अंशु बेपत्ता हुनुभन्दा केही दिनअघि मात्र पहिलो पटक महिनावारी भएकी थिइन् ।

यसैबीच, बालिकाको शव पोस्टमार्टम गरिए पनि आफन्तले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन् । त्यसैले अंशुको शव १३ दिनदेखि बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ ।

लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी पोखरेल निरौला जतिसक्दो चाँडो अपराधीको खोजतलास गर्नुपर्ने बताउँछिन् । प्रहरीले घटना भएको दिन र त्यसपछि सो क्षेत्रमा सक्रिय मोबाइल सिग्नलहरूको सूक्ष्म अध्ययन गरिरहेको छ ।

यसै क्रममा सोधपुछका लागि झुम्का कारागारबाट भागेका एक जना कैदी पक्राउ परेको स्रोतको दाबी छ । प्रहरी उपरीक्षक कटवालले अंशु हत्या प्रकरणमा चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.