
काठमाडौँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तका प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध बाल अदालत भक्तपुरमा बिहीबार मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले प्रहरीको रायसहितको प्रतिवेदनका आधारमा दुवै नाबालकविरुद्ध ज्यान सम्बन्धी कसुर र आपराधिक उपद्रव गर्न नहुने कसुरमा सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
सादा पोसाकमा ड्युटीमा खटिएका प्रहरी जवान थापालाई प्रदर्शनकारीहरूको समूहले ढुङ्गा र रडले अन्धाधुन्ध प्रहार गरेपछि घिसार्दै सडकको बीचमा ल्याएर छाडेका थिए ।
अभियोगपत्रमा उल्लेख भएअनुसार, आन्दोलनकारीको आक्रमणबाट प्रहरी जवान थापालाई कार्यालयबाट लछारपछार गर्दै बाहिर निकालिएको थियो । त्यसपछि भाटभटेनी सुपरमार्केट पछाडिको भित्री सडकको कुनामा ल्याएर ज्यान मार्ने उद्देश्यले लाठी, फलामको रड, चिर्पट, इँटा, ढुङ्गालगायतका गह्रुँगो वस्तुले बारम्बार प्रहार गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरिनु उल्लेख छ ।
घटनामा संलग्न दुवै नाबालकले बयानका क्रममा आफूहरू घटनामा संलग्न रहेको स्वीकार गरेका छन् । उनीहरूले आन्दोलनको पहिलो दिन ‘प्रदर्शनमा सहभागी युवामाथि गोली चलाएर मारिएको सुनेपछि आक्रोश बढेको’ बताएका छन् ।
सोही आक्रोशमा महाराजगञ्जमा पुग्दा प्रहरी कार्यालयमा तोडफोड भइरहेको देखेर आफूहरू पनि त्यसमै मिसिएर प्रहरीमाथि आक्रमण गरेको बयान अभियोगपत्रमा उल्लेख छ । प्रहरीले बुझाएको प्रतिवेदनमा घटनाको विस्तृत विवरण र प्रमाण समावेश गरिएको छ, जसको आधारमा बाल अदालतमा अब कारबाही अघि बढ्नेछ ।

























