फाइल फोटो ।विराटनगर । जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको गोलीसहित झापाको बिर्तामोडबाट २ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–२ राम चोकबाट बुधबार अपरान्ह उनीहरु पक्राउ परेका हुन् ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बाह्रदशी गाउँपालिका–४ चकचकी घर भइ बिर्तामोड–२ स्थित लालबहादुर गिरीको घरमा डेरा बस्दै आएकी २७ वर्षीया ईस्रप खातुन र बिर्तामोड–२ का २२ वर्षीय विकाश टुडूलाई पक्राउ गरिएको हो । खातुनको कोठा खानतलासी गर्दा गोली, प्रहरीका बुटलगायत फेला परेको खड्काले बताए ।
उनका अनुसार खातुनको कोठाबाट एसएलआर राइफलको २८ राउण्ड र इन्सास राइफलको १६ राउण्ड गोली बरामद भएको छ । त्यस्तै, प्रहरीको १ जोडी बुट, काँसको थाल, करुवा र पित्तलको गिलाससमेत बरामद भएको प्रहरीले जनाएको छ ।
उक्त गोलीसहितका सामान पक्राउ परेका टुडूले लुटेको र खातुनको कोठामा लागेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले गत भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमण गरेर प्रहरीका हतियार र गोली लुटपाट गरेको थियो ।
त्यतिबेला लुटपाट गरिएका हतियार र गोली फेला पर्ने क्रममा छन् । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले बताए ।
उक्त आन्दोलनका बेला आगजनी र तोडफोडमा संलग्न केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डीएसपी खड्काले अपराधिक गतिविधिमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताए ।

























