
भैरहवा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार उक्त आदेश दिएको हो । सूचना अधिकृत रामबहादुर कुँवरका अनुसार न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउने आदेश दिएको हो ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ । लामिछानेले ४ भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।
जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश भएको थियो ।
बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । हाल लामिछानेलाई पुर्पक्षका लागि नख्खु कारागारमा र जोशीलाई भैरहवा कारागारमा राखिएको छ ।

























