
काठमाडौं । आफूहरू सीआईबीमा कार्यरत प्रहरी रहेको बताउँदै ई–सेवामा रकम ट्रान्सफर गर्न लगाउने २ जना पक्राउ परेका छन् ।
धनुषाको मिथिला नगरपालिका– ९ लालगढ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१० गोठाटारमा बस्दै आएका ४१ वर्षीय रविन कोइराला र धनकुटाको महालक्ष्मी नगरपालिका–७ घर भइ काठमाडौंको कीर्तिपुर भत्केकोपाटीमा बस्दै आएका ३३ वर्षीय योगेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो । ३–४ जनाको समूहमा आएका व्यक्तिहरुले कात्तिक १६ गते कोटेश्वरमा खाजा खाएर बसिरहेका २ जनालाई ठगी गरेका थिए ।
आफूहरु सीआईबीका प्रहरी बताउँदै उनीहरुले दुवै जनाबाट ५०–५० हजार गरी १ लाख रूपैयाँ ई–सेवामा ट्रान्सफर गर्न लगाएको र साथमा रहेको ६ हजार रूपैयाँसमेत लिएर फरार भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए । उनका अनुसार पक्राउ परेकाको साथबाट विभिन्न व्यक्तिहरूको पासपोर्ट ११ थान, विभिन्न संस्थाहरूको आईडी १३ थान, विभिन्न कार्यालयहरूको छाप ४ थान, एटीएम कार्ड ३ थान, नगद रसिदको ठेली ११ थान, विभिन्न व्यक्तिका निवेदनहरू र मिलापत्रको कागजातहरू बरामद भएको छ ।
उनीहरूले प्रेसको परिचयपत्र पनि बोकेको पाइएको छ । उक्त परिचयपत्र नक्कली रहेको प्रहरीले जनाएको छ । बानेश्वर प्रहरी टोलीले बिहीबार पक्राउ गरेका दुवै जनाविरुद्ध ठगी तथा अपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।

























