
विराटनगर । विराटनगरको केक काउन्टरमा पानी माग्दै गएका १ जना पुरुषले शुक्रबार बिहान उक्त केक काउन्टरमा काम गर्ने महिलालाई कुटपिट गरेका छन् ।
विराटनगर महानगरपालिका–७ स्थित न्यू किरण पाउरोटी उद्योग नामक केक काउन्टरमा पानी माग्दै गएका विराटनगर–७ का ३५ वर्षीय भास्कर बस्नेतले महिलालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट काउन्टरमा काम गर्ने मोरङको कटहरी गाउँपालिका–२ की २४ वर्षीया पवित्रा राजवंशी सामान्य घाइते भएकी छन् ।
उनको कानमा चोट लागेको छ । प्रहरीका अनुसार उपचारका लागि उनलाई कोशी अस्पताल लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार बस्नेत खानलाई भनेर पानी माग्दै केक काउन्टरमा पुगेका थिए ।
काउन्टरमा काम गर्ने राजवंशीले उनलाई फ्रिजबाट निकालेर पानीको बोतल दिइन् । त्यसलगत्तै उनले राजवंशीको टाउको बारम्बार त्यही फ्रिजमा ठोक्काइदिएका छन् । घटनासँग सम्बन्धित भिडियो पनि बाहिरिएको छ ।
भिडियोमा महिलाले पानीको बोतल निकालेर बस्नेतलाई दिएको र त्यसलगत्तै बस्नेतले ती महिलाको टाउको ५–६ पटक फ्रिजमा ठोक्काइदिएको देख्न सकिन्छ । आफ्नो टाउको फ्रिजमा ठोक्काइदिन थालेपछि ती महिला चिच्याएकी थिइन् ।
त्यसलगत्तै काउन्टरमा रहेका युवाहरुले छुट्याएर प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले बस्नेतलाई पक्राउ गरेको छ । उनले ती महिलालाई कुटपिट गर्नुको कारण खुल्न सकेको छैन ।
‘पानी दिनसाथ एक्कासि महिलाको टाउको समातेर फ्रिजमा ठोक्काइदिन थालेको भिडियोमा देख्न सकिन्छ । कसरी र किन घटना भयो भनेर थाहा छैन । हेर्दा बस्नेतमा मानसिक समस्या हो कि जस्तो देखिन्छ,’ प्रहरी स्रोतले भन्यो । पक्राउ परेका बस्नेतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























