
धरान । सुनसरीको धरान उपमहानगरपालिकाका दुई फरक स्थानबाट प्रहरीले शुक्रबार राति लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमध्ये १ जनाको साथबाट ब्राउन सुगर (खैरो हेरोइन) र १ जनाको साथबाट ट्याब्लेट बरामद भएको छ । धरान उपमहानगरपालिका–५ कुलुङ चोकनजिकबाट राति ९ः१० बजेतिर १ जना पक्राउ परे ।
सुनसरीको बाराहक्षेत्र नगरपालिका–१५ का २८ वर्षीय सनम तामाङलाई चेकजाँच गर्दा साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट ३.३३ ग्राम ब्राउन सुगर बरामद भएको छ ।
त्यस्तै, राति ८ः३० बजेतिर धरान–१७ ठकुरी पुलनजिक प्रदेश १–०२–०४० प ७१५८ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेको थियो । धरानदेखि चतरातर्फ जाँदै गरेको मोटरसाइकललाई नियन्त्रणमा लिएर खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
त्यसलगत्तै प्रहरीले मोटरसाइकल चालक बाराहक्षेत्र नगरपालिका–४ का २७ वर्षीय सुनील गिरीलाई पक्राउ गरेको छ । उनको साथबाट लागुऔषध ट्रामाडोल ८२ क्याप्सुल र स्पास्मोप्रोक्सीभोन (स्पास्पेन) १ हजार ९ सय ९० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गिरीलाई पक्राउ गरेर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

























