
विराटनगर । जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका ठूलो संख्याका कैदीबन्दी अझै पनि कारगार बाहिरै रहेका छन् । फरार भएका कैदीबन्दी पक्राउ नपर्दा अन्य अपराधको जोखिम बढेको छ ।
कारागारबाट भागेकामध्ये ५ सय ५७ जना कैदीबन्दी अझै कारागार बाहिरै छन् । उनीहरु अहिलेसम्म कारागार प्रशासन र सुरक्षा संयन्त्रको सम्पर्कमा छैनन् । फरारमध्ये धेरैजसो गम्भीर तथा संगठित अपराधमा संलग्न रहेका कारण कोशी प्रदेशको समग्र शान्ति सुरक्षामा खलल पुग्ने देखिन्छ ।
झुम्का कारागारका जेलर सुवासकुमार लामिछानेका अनुसार फरारमध्ये सबैभन्दा धेरै १ सय ९८ जना लागुऔषध मुद्दाका कैदी छन् । जबरजस्ती करणीका १ सय ६१ जना, कर्तव्य ज्यानका ७३, चोरीका ३०, डकैतीका १३, अपहरण तथा मानव बेचबिखनका २३, ज्यान मार्ने उद्योगका १२, हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दाका २ छन् ।
त्योबाहेक ठगी, अभद्र व्यवहार, सामान्य झगडा तथा अन्य विभिन्न मुद्दाका ४४ जना कैदी फरार सूचीमा छन् । भदौ २४ गते कारागारबाट १ हजार ७ सय ९६ कैदीबन्दी फरार भएका थिए ।
तीमध्ये १ हजार १ सय ९७ जना फर्किसकेका छन् । सुरक्षाको भय, सार्वजनिक दबाब र आफूविरुद्ध थप कारबाहीको जोखिम बढेपछि ८ सय ६७ जनाले कारागारमै आएर आत्मसमर्पण गरेका थिए भने ३ सय ३० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
अहिले झुम्का कारागारमा १ हजार २ सय ८८ जना कैदीबन्दी छन् । फरार भएका ५ सय ५७ जनामध्ये धेरैजसो अत्यन्तै जोखिमपूर्ण, दीर्घ सजाय काटिरहेका र अपराध नेटवर्कसँग जोडिएका व्यक्तिहरू भएकाले उनीहरूको खोजी जटिल बन्दै गएको प्रहरी स्रोत बताउँछ ।
फरार कैदीबन्दीका कारण आगामी चुनावी सुरक्षामा पनि चुनौती बढ्ने विश्लेषण सुरक्षाविद्हरुले गरेका छन् । फरार रहेकाले अवैध नेटवर्कसँग हातेमालो गर्दै आर्थिक स्वार्थ, राजनीतिक दबाब, धम्की तथा मतदाताको स्वतन्त्रतामाथि प्रत्यक्ष प्रभाव पार्न सक्ने उनीहरुको भनाइ छ ।
भागेका कैदीबन्दीका कारण अवैध पैसाको चलखेल, अस्थिरता र सामाजिक तनाव फैलने सम्भावना बढेसँगै सुरक्षा सतर्कता बढाइएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेवेले फरार कैदी समात्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताए ।
सीमा क्षेत्र, राजमार्ग, होटल तथा लज, बसपार्कदेखि ग्रामीण बस्तीमा समेत कडा चेकजाँच थालिएको उनको भनाइ छ । स्थानीयलाई पनि कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी दिन प्रहरीले आग्रह गरेको छ । प्रहरीका विशेष टोलीहरू रातदिन गस्ती, सूचनाको विश्लेषण र फरार रहेकाको पहिचानमा जुटिरहेका छन् ।
सुरक्षाविद्हरु फरार कैदीबन्दीको सक्रियता बढेमा अपराधमा वृद्धि, सामाजिक तनाव, आर्थिक असुरक्षादेखि लिएर समुदायको दैनिक जीवनमै त्रास फैलिन सक्ने बताउँछन् । फरार कैदीहरू चाँडै नियन्त्रणमा नआए प्रदेशभर अपराध र तनाव बढ्ने उनीहरुको विश्लेषण छ ।

























