
विराटनगर । मानव बेचबिखन मुद्दामा लामो समयदेखि फरार रहेकी प्रतिवादी मोरङको सुन्दरहरैँचा नगरपालिका–६ की ५० वर्षीया बिना राई (लिम्बू)लाई प्रहरीले पक्राउ गरेको छ ।
विगत १५ वर्षदेखि फरार रहेकी बिनालाई प्रहरी चौकी गछियाबाट खटिएको सई (प्रहरी नायव निरीक्षक) गणेश दाहाल नेतृत्वको टोलीले बिहीबार राति घरबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी लामो समयदेखि लुकिछिपी बस्दै आएकी थिइन् ।
बिनाविरुद्ध २०६७ साल असोज ५ गते इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी परेको थियो । प्रतिवादी लामो समयदेखि फरार हुँदा कार्यान्वयनमा जान नसकेर जाहेरी वर्षौंदेखि अलपत्र परेको थियो । बिनाले आकर्षक कमाइको लोभ देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै भारतको नयाँ दिल्लीको बाटो प्रयोग गरेर १ जना नेपाली महिलालाई साउदी अरब पुर्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार ती महिलालाई वैदेशिक रोजागारीमा पठाउने र आकर्षक कमाइ हुने प्रलोभन देखाएर नयाँ दिल्ली हुँदै साउदी अरब पुर्याइएको थियो । पछि नेपाली राजदूतावासको सहयोगमा नेपाल फर्किएर पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । आफूविरुद्ध जाहेरी परेको थाहा पाउनसाथ बिना फरार भइन् ।
राजदूतावासले उद्धार गरेर नेपाल पठाएकी महिलाले कानुनी कारबाहीको बाटो रोजेको भएपनि प्रतिवादी पक्राउ नपर्दा लामो समयदेखि जाहेरी ‘पेन्डिङ’मा थियो । पीडितले न्याय पाउन सकिरहेकी थिइनन् । बिनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउन प्रहरीले शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । मुद्दा पुरानो भएपनि कानुनी रुपमा अझै निष्कर्षमा नपुगेको र प्रतिवादी पक्राउ भएसँगै अब बाँकी प्रक्रिया अघि बढ्ने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
प्रहरीका अनुसार साउदी पुगेपछि पीडितले अत्यधिक श्रमशोषण र दुर्व्यवहार सहनुपरेको थियो । ‘साउदीमा ठूलै पीडा सहेर बसेकी महिला दूतावासको सहयोगमा नेपाल फर्किन सफल भएको पाइयो । जाहेरी परेको भए पनि प्रतिवादी फरार भएकाले मुद्दा अघि बढ्न सकेको थिएन । अब पक्राउ भइसकेकाले प्रमाणका आधारमा प्रक्रिया अघि बढ्छ,’ एसपी कटवालले भने ।
नेपालमा वैदेशिक रोजगारीका नाममा हुने ठगी, प्रलोभन र मानव बेचबिखनका मुद्दाहरू वर्षौंदेखि संवेदनशील विषय बनेका छन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुरूप विदेश पुर्याएर श्रमशोषण वा बन्धनमा राख्ने कार्य गम्भीर अपराध मानिन्छ । त्यहाँमाथि साउदी अरबमा नेपाली महिलालाई पठाउनै पाइँदैन ।
मानव बेचबिखन प्रमाणित भए १० देखि १५ वर्षसम्म कैद सजाय, आर्थिक जरिबाना र राज्यतर्फबाट कठोर कारबाही हुने प्रावधान छ । तर, प्रतिवादी फरार भएर मुद्दाहरू लामो समय थन्किनु, प्रमाण संकलनमा ढिलाइ हुनु र पीडितले न्याय पाउन वर्षौं कुर्नुपर्ने जस्ता समस्या नेपालका धेरै घटनामा दोहोरिने गर्छन् । यस घटनामा पनि पीडितले नेपाल फर्किएर उजुरी दिएको १५ वर्षपछि मात्र प्रतिवादीलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
यो घटनामा पीडित विदेशमा भएका बेला दूतावासले तयार पारेको जोखिम मूल्यांकन, श्रमशोषण सम्बन्धी विवरण र घटनासँग जोडिएका अन्य कागजात एवं प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दर्ता गरिनेछ । समयावधि लामो समय भइसके पनि संवेदनशीलतालाई ध्यानमा राख्दै ‘उच्च प्राथमिकता’मा राखेर घटनाको अनुसन्धान अघि बढाइएको एसपी कटवालले बताए ।

























