
विराटनगर । जेनजी आन्दोलनको मौका छोपेर सुनसरीको झुम्का कारागारबाट भागेका १ जना कैदी पक्राउ परेका छन् ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ३० वर्षीय वविनारायण चौधरी पक्राउ परेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार चौधरीलाई घरनजिकैबाट शनिबार बिहान ८ः५० बजेतिर पक्राउ गरिएको हो ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका चौधरी जेनजी आन्दोलनको मौका छोपेर गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका हुन् । उनलाई अदालतले २५ वर्ष कैद सजायको फैसला गरेको थियो ।
अदालतले जन्मकैदको सजाय सुनाएपछि उनी झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए । विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट बलियाबाट खटिएको असई (प्रहरी सहायक निरीक्षक) रमेश खतिवडा नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । एसपी कटवालले जेनजी आन्दोलनको मौका छोपेर र अन्य समयमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्नका लागि विशेष अभियान सञ्चालन गरिएको जानकारी दिए ।
त्यस्तै, लागुऔषध मुद्दामा फरार रहेका १ जना मोरङको मिक्लाजुङ गाउँपालिका–३ बाट पक्राउ परेका छन् । जिल्ला अदालत मोरङबाट प्रहरीले पक्राउ अनुमति लिएर लागुऔषध सम्बन्धी चालु मुद्दाका प्रतिवादी मिक्लाजुङ–३ का २१ वर्षीय करण खिनाल दर्जीलाई पक्राउ गरेको हो ।
एसपी कटवालका अनुसार दर्जीलाई शुक्रबार साँझ पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको जानकारी कटवालले दिए ।

























