
विराटनगर । जेनजी आन्दोलनको मौका छोपेर जिल्ला कारागार चितवनबाट फरार भएका १ जना थुनुवालाई झापाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘सालकको अखेटोपहार’ सम्बन्धी मुद्दामा अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका झापाको शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा आइतबार साँझ पक्राउ परेका हुन् । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सुब्बा जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते फरार भएका थिए ।
फरार भएपछि उनी झापास्थित घरमा आएर लुकिछिपी बसेको पाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले उनलाई घरनजिकबाटै पक्राउ गरेको जानकारी खड्काले दिए । उनका अनुसार सुब्बालाई हाल झिलझिले प्रहरीकै हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

























