
सुनसरी । ‘गुन्डा नाइके’को छवि बनाएका अपराधिक पृष्ठभूमिका सन्तोष विकलाई सोमबार सुनसरी उद्योग वाणिज्य संघको कार्यसमितिमा मनोनीत गरिएको छ ।
विगतको अपराधिक घटनामा संलग्न भएको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उनलाई वाणिज्य संघको सदस्यमा मनोनीत गरिएको हो । गुण्डागर्दीमार्फत धरानमा अपराधिक राज चलाउँदै आएका विवादास्पद छविका विकलाई व्यापारिक प्रतिष्ठानको नेतृत्व तहमा पुर्याइएको खबर सार्वजनिक भएपछि व्यापक विरोध भइरहेको छ ।
संघका अध्यक्ष गोपाल श्रेष्ठ, महासचिव प्रभाव खतिवडा, कोषाध्यक्ष प्रमोद आचार्य र निवर्तमान अध्यक्ष विजय श्रेष्ठलगायतको जोडबलमा उनलाई कार्यसमिति सदस्यमा मनोनीत गरिएको स्रोतले बतायो । स्रोतका अनुसार उनलाई संघको सदस्यमा मनोनीत गर्न नेपाली कांग्रेसका नेता उमेश थापाले दबाब दिएका थिए ।
थापा यसअघि रेडक्रस सुनसरीका सभापतिसमेत थिए । थापाकै पहलमा रेडक्रसमा पनि विकलाई सदस्यमा मनोनीत गरिएका थियो । गुण्डागर्दी र अपराधिक पृष्ठभूमिका कारण विवादित बनेका विकलाई रेडक्रसको सदस्यमा मनोनीत गरिएको खबर सार्वजनिक भएपछि केन्द्रीय समितिले तत्काल हटाएको थियो ।
अब पुनः उद्योग वाणिज्य संघजस्तो महत्वपूर्ण व्यापारिक संस्थामा विकको प्रवेशपछि व्यापारी, सर्वसाधारण र नागरिक समाजबाट गम्भीर प्रश्न उठेको छ । उनीहरुले ‘अपराधिक पृष्ठभूमि भएका व्यक्तिलाई संस्थागत नेतृत्वमा पुर्याउने परिपाटीको अन्त्य कहिले हुन्छ ?’ भनेर प्रश्न गरेका छन् ।
विरोध बढ्दै जाँदा संघभित्रकै केही सदस्यहरूले पनि उनलाई मनोनीत गरिएको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । स्थानीय व्यवसायीहरू भन्छन्, ‘उद्योग वाणिज्य संघ प्रतिनिधिमूलक, विश्वसनीय र व्यवसायिक चरित्रको संस्था हो । यस्तो ठाउँमा गुन्डाको छवि बोकेको मान्छे आउनु संस्थाको प्रतिष्ठामाथिकै प्रहार हो ।’
घटनाक्रमले धरानको व्यावसायिक संस्थामा राजनीतिक हस्तक्षेप र विवादास्पद व्यक्तिहरूको पहुँच सहज रहेको प्रष्ट हुने व्यवसायीहरु बताउँछन् । नेपाली कांग्रेसआबद्ध विकविरुद्ध विभिन्न मुद्दाहरु चलेको प्रहरी स्रोतले बतायो ।
युवा संघका कोशी प्रदेश इन्चार्ज दिवश राईलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा विकविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलेको थियो । २०७३ साल माघमा धरान उपमहानगरपालिका–१८ शिव मार्गमा राईमाथि आक्रमण भएको थियो ।
उक्त घटनामा संलग्न रहेको भन्दै विकलाई ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरी जिल्ला अदालत सुनसरीले २ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । फैसलाविरुद्ध विकले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका थिए । उक्त पुनरावेदन हालसम्म विचाराधीन अवस्थामै छ ।
अदालतमा मुद्दा विचाराधीन रहेका विक भने उद्योग वाणिज्य संघ सुनसरीको सदस्यमा मनोनीत भइसकेका हुन् । विभिन्न अपराधिक घटनामा संलग्न रहेका उनीविरुद्ध अन्य मुद्दासमेत चलेको प्रहरीको दाबी छ ।
तर, विकले भने दिवश राईमाथि आक्रमण भएको घटनामा मात्रै आफूविरुद्ध मुद्दा चलेको बताए । ‘अरु कुनै पनि घटनामा मेरो संलग्नता छैन । एउटा घटनासँग सम्बन्धित मुद्दा उच्च अदालतमा विचाराधीन छ । जिल्ला अदालतले कैद सजायको फैसला गरेपछि चित्त नबुझेकाले पुनरावेदन गरिएको हो । अरु कुनै पनि अपराधिक घटनामा म संलग्न छैन । मुद्दा पनि चलेको हैन,’ उनले भने ।
यसअघि पनि संघको कार्यसमिति आफू रहेको बताउने विक व्यावसायिक व्यक्ति भने हुन् । धरानमा उनको भिन्तेज होटल छ । उक्त होटलमा कांग्रेस नेता थापाको पनि लगानी रहेको स्रोतले बतायो । संघका अध्यक्ष गोपाल श्रेष्ठले भने विक विगतमा अपराधमा संलग्न भएको विषयमा कुनै जानकारी नभएको बताए ।
‘यहाँभन्दा पहिले पनि उहाँ (विक) कार्यसमितिमा हुनु हुन्थ्यो । उहाँको विगतको र व्यावसायिक कार्यशैली राम्रो भएकाले संघमा मनोनीत गरिएको हो । हामी उहाँलाई राम्रो व्यवसायी भनेर चिन्छौं । ४–५ करोड लगानीको होटल चलाइरहनु भएको छ । व्यावसायिक छवि राम्रो भएकैले संघमा मनोनीत गरिएको हो,’ श्रेष्ठले भने । तर, अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा अपराधिक पृष्ठभूमि बोकेका ‘गुन्डा नाइके’लाई संघमा मनोनीत गरिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

























