काठमाडौंबाट हतियार लुटेर भागेका ३ जना झापा र इलाममा पक्राउ, कांग्रेस नेताका छोराको संलग्नता

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ९, मंगलबार ०८:२७

विराटनगर । जेनजी आन्दोलनको आवरणमा काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट हतियार लुटेर भागेका ३ जना झापा र इलाममा पक्राउ परेका छन् ।

कार्यालयमा आगजनी, तोडफोड र हतियार लुटपाटको घटनामा संलग्नहरु पक्राउ परेको झापा प्रहरीले जनाएको छ । प्रहरीको साथबाट लुटिएका २ थान चाइनिज पेस्तोल (टाइप–५४ पेस्तोल) र २० राउण्ड गोली पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमध्ये १ जना नेपाली कांग्रेसका नेता विश्वदीप लिङ्देनका छोरासमेत रहेका छन् । विश्वदीप लिङ्देन २०६४ सालमा माओवादीबाट विजयी बनेका संविधानसभा सदस्यसमेत हुन् । यो घटनाले नेताहरुकै सन्तान र आफन्त आगजनी, लुटपाटसमेतका घटनामा संलग्न रहेको तथ्य उजागर भएको छ ।

प्रहरीले सुरुमा हतियार लुटेर भागेकामध्ये झापाको दमक नगरपालिका–८ का २५ वर्षीय सरोज पुरीलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय दमक र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले दमक–८ स्थित एभरेस्ट बोर्डिङ स्कुल छेउबाट सोमबार राति उनलाई पक्राउ गरेको थियो ।

पुरी सुरुमा पक्राउ परेपछि प्रहरीले टाइप–५४ पेस्तोल, त्यसको म्याग्जिन र १५ राउण्ड गोली बरामद गर्यो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगेर सोधपुछ गर्दा उक्त हतियार दमक–६ प्रशान्ती टोलका २९ वर्षीय विश्व लिङ्देनकहाँ राखेको बताए ।

त्यसकै आधारमा प्रहरीले विश्व लिङ्देनलाई घरबाटै पक्राउ गर्यो । विश्व नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन् । थप सोधपुछमा विश्व लिङ्देनले आफूले सरोज पुरीमार्फत प्राप्त पेस्तोल इलामको चुलाचुली गाउँपालिका–४ आइतबारेका ३० वर्षीय पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बिक्री गरेको खुलाए ।

उनको बयानपछि लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय दमककको संयुक्त टोली इलाम पुगेको थियो । त्यहाँ हाङसुङ्वाको बारीमा खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाइ राखेको ५ राउण्ड गोली लोड गरिएको चाइनिज टाइप–५४ पेस्तोल बरामद भयो । त्यसलगत्तै उनलाई पनि प्रहरीले पक्राउ गर्यो ।

प्रहरीका अनुसार बरामद गरिएको पेस्तोलमा खिया लागेको छ । बरामद दुवै पेस्तोल, २० राउण्ड गोली र तीनै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि काठमाडौं पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल रानीपोखरी भएकाले अनुसन्धान एवं कारबाहीको प्रक्रिया काठमाडौंबाट अघि बढ्ने छ । राजनीतिक पृष्ठभूमि भएकै कारण विश्व लिङ्देनको संलग्नताले घटनालाई थप संवेदनशील बनाएको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट उम्मेदवार बनेका विश्वदीप लिङ्देनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए । पछिल्लो समय उनी कांग्रेस प्रवेश गरेका थिए ।

प्रहरीको हतियार लुटपाट घटनामा उनका छोरा पक्राउ परेपछि घटनाले नयाँ मोड लिएको छ । प्रहरीले यस प्रकरणमा अरूको संलग्नता छ कि छैन भनेर पत्ता लगाउन अनुसन्धानको दायरा फराकिलो पारेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.