
विराटनगर । सुनसरीको झुम्का कारागारबाट भागेका २ जना कैदीबन्दीलाई प्रहरीले विशेष सूचनाका आधारमा झापाबाट पक्राउ गरेको छ ।
जिल्लाको मेचीनगर नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको संयुक्त टोलीले आज (बुधबार) बिहान उनीहरूलाई पक्राउ गरेको हो ।
राजस्व छली मुद्दामा कैद भुक्तान गरिरहेका ५८ वर्षीय मदन पोखरेल र त्यति नै वर्षका उत्तम ठकुरी गत साउन २४ गते जेन्जी आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार भएका थिए । प्रहरीले उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको जनाएको छ ।
पक्राउ गरिएका दुवै जनालाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित झुम्का कारागारमा नै पठाइने तयारी भइरहेको छ ।

























