मोरङ लेटाङकी अंशु गौतमको हत्यामा छिमेकीको संलग्नता, १ जना पक्राउ

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २१, आइतबार ०७:४४

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या छिमेकीले गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।

अंशुको हत्या गरेको आरोपमा छिमेकी अन्दाजी ५०–५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । हत्यामा पदमकै संलग्नता रहेको यकिन भएको प्रहरी स्रोतले बतायो । यद्यपि, प्रहरी अधिकारीहरुले आधिकारिक पुष्टि गरिसकेका छैनन् ।

प्रहरी स्रोतका अनुसार पदम आफैंले अंशुको हत्या गरेको स्वीकार गरिसकेका छन् । असोज २१ गते दिउँसो घरबाट निस्किएकी उनको हत्या गरेर फालेको अवस्थामा कात्तिक ७ गते शव फेला परेको थियो । बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएको तथा क्षतविक्षत एवं सडेर दुर्गन्धित भएको अवस्थामा शव भेटिएको हो ।

घरबाट हराएकै दिन अंशुको हत्या भएको र पछि बीभत्स अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । यद्यपि, बलात्कारपछि हत्या गरिएको हो कि हैन भनेर यकिन भइसकेको छैन । पदमले उनको हत्या गर्नुपर्ने कारण तथा कसरी हत्या गरियो भनेर पनि प्रहरीले खुलाएको छैन । तर, अभिभावकसँगको पुरानो रिसईबीका कारण नियोजित हिसाबले उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

‘हालसम्मको अनुसन्धानबाट हत्यामा पदम एक्लैको संलग्नता देखिएको छ । विस्तृत अनुसन्धानबाट थप कुरा खुल्दै जान्छ । पदममाथि थप सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो । प्रहरीले लामो समय मिहिनेत गरेर अंशुको हत्यामा संलग्नको पहिचान गर्न सकेको हो ।

‘अंशुको हत्यापछि अनुसन्धानमा अनेक जटिलता उत्पन्न भए । शव नै सडेको अवस्थामा भेटिएकाले घटनाको निष्कर्षमा पुग्न कठिन भइरहेको थियो । तर, निक्कै मिहिनेत गरिएका कारण हत्यामा संलग्नसम्म पुग्न सकियो,’ प्रहरीका १ अधिकारीले भने । उनका अनुसार शव कुहिएका कारण धेरैजसो प्रमाणहरु नष्ट हुँदा प्रहरीलाई यो घटना टाउको दुखाइको विषय बनेको थियो ।

घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीसमेत खटिएको थियो । प्रहरीको विभिन्न कार्यालयबाट खटिएको संयुक्त टोलीले अन्ततः हत्यामा संलग्नलाई पहिचान गरेर नियन्त्रणमा लिन सफल भएको हो ।

घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितका प्रहरी अधिकारी खटिएका थिए । एसपी कटवालले घटना अझै अनुसन्धानकै क्रममा रहेको र केही व्यक्तिमाथि सोधपुछ भइरहेको बताए । ‘घटना यही व्यक्तिले गराएको हो भनेर अन्तिम निष्कर्षमा पुग्न बाँकी छ । थप अनुसन्धान भइरहेको छ । सबै कुरा यकिन भइसकेपछि सार्वजनिक गर्छौं,’ उनले भने ।

घटना अत्यन्त संवेदनशील रहेको कटवालको भनाइ छ । ‘पोस्टमार्टम रिपोर्ट, डीएनए परीक्षण, फरेन्सिक अनुसन्धानलगायतका पाटोबाट विस्तृत अनुसन्धान भइरहेको छ । यो जघन्य आपराध हो । थप प्रमाण जुटाउँदैछौं,’ उनले भने ।

घटनासँग सम्बन्धित धेरै विषयहरु विस्तृत अनुसन्धानबाट खुल्दै जाने कटवालको भनाइ छ । अंशुको बीभत्स एवं कुहिएको शव फेला परेको घटनास्थलमा उनले लगाएका ट्राउजर, हाफपाइन्ट र चप्पल फुकालिएको अवस्थामा भेटिएको थियो । घटनास्थलको संकेतले बलात्कारपछि हत्या गरिएको हुन सक्ने देखाएको थियो । तर, बलात्कारको पुष्टि भइसकेको छैन ।

प्रहरीले डीएनए परीक्षणका लागि नमुना संकलन गरेर पठाएको थियो । डीएनए रिपोर्ट भने आउन बाँकी रहेको प्रहरी स्रोतले बतायो । अभिभावकले सनाखत गरिदिएपछि शव अंशुकै भएको पत्ता लागेको थियो ।

अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । उनका बाबुआमाको आर्थिक अवस्था कमजोर रहेको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बताए । घटनाको स्वरूप हेर्दा बलात्कारपछि हत्या भएको ठम्याउन सकिने उनको भनाइ छ । ‘अरु विषय प्रहरीको अनुसन्धानपछि पत्ता लाग्छ,’ तिम्सिना भन्छन् ।

घटनास्थल वरपरका बासिन्दासँग सोधपुछ, प्रमाण संकलन तथा शंकास्पद व्यक्तिहरूको पृष्ठभूमि अध्ययन गर्दै प्रहरी मुख्य अभियुक्तसम्म पुग्न सफल भएको हो । प्रहरीले यस घटनालाई लिएर अंशुका अभिभावकदेखि विद्यालयका शिक्षक, सहपाठी र छिमेकीलगायत अन्य धेरै व्यक्तिमाथि सोधपुछ एवं अनुसन्धान गरेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.