
विराटनगर । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका–२ बस्ने २६ वर्षीय अर्जुन विश्वकर्मा छन् । इलाका प्रहरी कार्यालय सुरुङ्गाले उनको घरबाटै आइतबार नियन्त्रणमा लिएको हो ।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले झापाका विभिन्न प्रहरी कार्यालयहरूबाट गम्भीर, जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भई अनुसन्धानमा रहेका ९२ जना थुनुवा भगाएका थिए।
प्रहरीका अनुसार, विश्वकर्मासँगै झापामा अहिलेसम्म फरार रहेका २१ जना थुनुवा पक्राउ परिसकेका छन् ।
आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवाहरूलाई भगाइएको थियो । फरार रहेका बाँकी ७१ जनाको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ ।

























