
विराटनगर । मोरङ जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई कैद सजाय तोकिएका २ जना फरार प्रतिवादीहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा उनीहरूलाई आ-आफ्नो घर वतनमै लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो।
पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका-१८ बस्ने २६ वर्षीय युवराज कुमार साह छन्। उनलाई सम्मानित मोरङ जिल्ला अदालतले २०७७ माघ १४ गते इजाजत नलिई बैंकिङ तथा वित्तीय कारोबार गरेको कसुरमा ११ महिना १० दिन कैद र ६ लाख ६२ हजार ८ सय ७० रुपैयाँ जरिवाना तोकेको थियो।
त्यसैगरी, विराटनगर महानगरपालिका-१७ बस्ने ३२ वर्षीया रुपा साह सुडी लाई पनि पक्राउ गरिएको छ। उनलाई पनि सोही कसुरमा अदालतले १ वर्ष कैद र ६ लाख ६२ हजार ८ सय ७० रुपैयाँ जरिवाना तोकेको थियो। पक्राउ परेका दुवै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि सम्मानित मोरङ जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

























