
विराटनगर । सुनसरीको झुम्का कारागारबाट फरार भएका कुख्यात अपराधी बुधबार दिउँसो विराटनगरमा पक्राउ परेका छन् ।
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ घर भएका २९ वर्षीय पप्पु सिंह भनिने पप्पुकुमार यादवलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको असई धनप्रसाद रिमाल नेतृत्वको टोलीले उनलाई दिउँसो ३ः४० बजेतिर विराटनगर महानगरपालिका–१८ भेडियारीदेखि पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीले उनलाई २४ वर्षभन्दा बढी कैद सजाय हुने फैसला सुनाएको थियो । झुम्का कारागारमा कैद सजाय भुक्तान गरिरहेका यादव जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते फरार भएका थिए ।
झुम्काबाट भागेर विराटनगरमा लुकिछिपी बसेको अवस्थामा उनी फेला परेका हुन् । प्रहरीको खोजी सूचीमा रहेका यादव कारागारबाट फरार भएको ३ महिनापछि पक्राउ परेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले यादवमाथि थप अनुसन्धान गरिरहेको छ ।
यसअघि सुनसरी प्रहरीले यादवलाई गत असार १७ गते इनरुवा नगरपालिका–३ बाट पक्राउ गरेको थियो । कर्तव्य ज्यान मुद्दामा सुनसरी अदालतले २०८१ साल भदौ २५ गते दोषी ठहर गर्दै यादवलाई २४ वर्ष ८ महिना १५ दिन कैद सजाय हुने फैसला सुनाएको थियो ।
तर, अदालतले तोकेको सजाय भुक्तान नगरिकन उनी लामो समयदेखि फरार थिए । अदालतले दोषी ठहर गरेको १० महिनापछि पक्राउ गरेर प्रहरीले अदालतमा बुझाएपछि उनलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको थियो ।
सजाय भुक्तान गरिरहेका बेला उनी जेनजी आन्दोलनको मौका छोपेर गत भदौ २४ गते फरार भएका थिए । प्रहरीका अनुसार हत्यामा दोषी ठहर भएका यादव कुख्यात अपराधी हुन् ।

























