
काठमाडौं । प्रभु बैंकको रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई १ अर्ब रुपैयाँभन्दा बढी हानि नोक्सानी पुर्याएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ललितपुर–१७ स्थित ईखाँछेबाट बुधबार नियन्त्रणमा लिएको हो । सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार शाक्यले रेमिट कारोबारका नाममा प्रभु बैंक लिमिटेडलाई नोक्सान पुर्याउँदै आफ्नै प्रभावमा रहेको प्रभु मनी ट्रान्सफरलाई फाइदा पुग्ने तरिकाले ‘प्रिफन्डिङ’ सुविधा दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रारम्भिक अनुसन्धानमा उनले बैंकलाई करिब १ अर्ब रुपैयाँ बराबरको हानि पुर्याएको देखिएको सीआईबीले जनाएको छ । शाक्यमाथि प्रभु म्यानेजमेन्ट प्रालिलाई नियमविपरीत ‘सुपर एजेन्ट’ बनाएर अग्रिम रकम उपलब्ध गराएको र रेमिट कारोबार स्थगित भएपछि पनि लामो समयसम्म उक्त रकम स्वार्थ समूहलाई प्रयोग गर्न दिएको आरोप छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गर्दै बैंकलाई थप ८ करोड ९३ लाख रुपैयाँभन्दा बढी नोक्सानी पुर्याएको र अपराध लुकाउन कृतिम रूपमा कर्जा प्रवाह गरेको अनुसन्धानले देखाएको छ । यसअघि सोही प्रकरणमा प्रभु बैंकका सीईओ अशोक शेरचन, डेपुटी सीईओ मणिराम पोखरेल र प्रमुख कर्ता अधिकृत रिवास श्रेष्ठलाई पनि पक्राउ परिसकेका छन् ।

























