
विराटनगर । मोरङको रंगेलीबाट प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित दुई जना युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मंगलबार अपरान्ह करिब ४:५० बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका–४ नेमा टोलस्थित चोप्राहा–रंगेली भित्री सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–६ बस्ने २९ वर्षीय निश्चल काफ्ले र मोरङको बेलबारी नगरपालिका–१० बस्ने २९ वर्षीय सरोज डोटेल छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको को ३३ प ८४६६ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्दा १ ग्राम ८६० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद भएकाे हाे । गरेको थियो। मोटरसाइकलको पछाडि सवार सरोज डोटेलले लगाएको दाहिने खुट्टाको चप्पलमुनि प्लाष्टिकको पोका बनाई लुकाएकाे अवस्थामा खैराे हिराेइन बरामद भएकाे थियाे ।
पक्राउ परेका दुवै जना र प्रयोग भएको मोटरसाइकललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























