
विराटनगर । विराटनगरबाट ठूलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित २ जना पक्राउ परेका छन् । दुवै जनालाई प्रहरीले बिहीबार दिउँसो विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालनजिकबाट पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले सुनसरीको हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलमलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये हबिबको साथबाट १ सय ३१ ग्राम खैरो हेरोइन बरामद भएको मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
उनका अनुसार प्रहरी पुग्दा दुवै जना सडक छेउमा मोटरसाइकल रोकेर शंकास्पद अवस्थामा गफ गरिरहेका थिए । पक्राउ परेकाले प्रयोग गरेको को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकामध्ये आलम भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक हुन् । दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी चुँडालले दिइन् ।

























