
विराटनगर । विराटनगरबाट मानव बेचबिखन मुद्दाकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की ४८ वर्षीया पनिता महता भनिने लेसनकुमारी नेपालीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१४ बाट दिउँसो ३ बजेतिर पक्राउ गरेको हो ।
नेपालीविरुद्ध २०७६ साल असोज ७ गते इलाका प्रहरी कार्यालय रानीमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता भएको थियो । तर, लामो समयदेखि उनी फरार थिइन् । खोजी जारी राखेको प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो ।
नेपालीलाई इलाका प्रहरी कार्याल्य रानीको हिरासतमा राखिएको छ । अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

























