
विराटनगर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ खामेलकका ३६ वर्षीय प्रमेराज आङदेम्बेको हत्या गरेको आरोपमा १ जना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
फाल्गुनन्द–६ का ८२ वर्षीय वर्णसिंह आङदेम्बेलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए । उनका अनुसार वर्णसिंहकै घरमा विवाद हुँदा उनले आइतबार प्रेमराजमाथि छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट प्रेमराजको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी आङसाराङबाट खटिएको टोलीले हत्यामा प्रयोग गरिएको छुरासहित वर्णसिंहलाई पक्राउ गरेको हो ।
उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । वृद्ध अवस्थाका वर्णसिंह र प्रेमराजबीच के कुरामा विवाद भएको थियो भनेर प्रहरीले खुलाएको छैन ।

























