
विराटनगर । काठमाडौंबाट फरार भएर विराटनगर आइपुगेकी मानब बेचबिखन मुद्दाकी प्रतिवादीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।
उदयपुरको कटारी नगरपालिका–४ की ४२ वर्षीया सृजना मगरलाई लुकिछिपी बसेको अवस्थामा विराटनगर महानगरपालिका–११ बसपार्कनजिकबाट राति ८ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार मगर मानव बेचबिखन तथा ओसारपसार मुद्दाकी प्रतिवादी हुन् ।
उनलाई काठमाडौंस्थित केन्द्रीय कारागारमा राखिएको थियो । जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते कारागारबाट भागेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले मगरलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

























