
विराटनगर । झापाको दमक नगरपालिका–१ स्थित बुद्ध टोलनजिक रतुवा खोला किनारको काँसघारीमा लुकाएर राखिएका हतियार र गोली फेला परेका छन् ।
स्थानीयवासीले खोला किनारको झाडीभित्र खिया लागेको अवस्थामा बेवारिसे हतियार र गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले शुक्रबार साँझ जानकारी दिनसाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको डीएसपी किशोर लम्साल नेतृत्वको टोलीले हतियार गोली बरामद गरेको छ ।
प्रहरी टोलीले घटनास्थल पुगेर हेर्दा लामो समयदेखि खुला स्थानमा राखिएको जस्तो देखिने गरी खिया लागेको अवस्थामा विभिन्न प्रकारका हातहतियार तथा गोलीगठ्ठा फेला परेको झापा प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार बरामद गरिएका हातहतियार तथा गोलीगठ्ठा जेनजी आन्दोलनको आवरणमा अराजक समूहले गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकबाट लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इलाका प्रहरी कार्यालयमा सुरक्षित राखिएको अभिलेखसँग तुलना गर्दा फेला परेका हतियार र गोलीगठ्ठा जेनजी आन्दोलनमा लुटिएको पाइएको हो । प्रहरीले ३ थान इन्सास राइफल (२ वटा म्यागजिनसहित) र विभिन्न प्रकारका १ सय ५९ राउण्ड गोली बरामद भएको जनाएको छ । साथै, गोली राख्ने बिन्दुली ३ थान बरामद भएको डीएसपी खड्काले बताए ।
सबै हातहतियार तथा गोलीगठ्ठा खिया लागेको अवस्थामा भेटिएकाले ती सामग्री लामो समयदेखि खोला किनारको झाडीमा लुकाएर राखिएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थल वरपर थप हतियार लुकाइएको हुन सक्ने आशंकामा प्रहरी टोलीले आवश्यक खोजतलास गरिरहेको छ ।
बरामद गरिएका हातहतियार तथा गोलीगठ्ठा इलाका प्रहरी कार्यालय दमकमा लगेर राखिएको छ । बेवारिसे अवस्थामा रहेका यस्ता हातहतियार आपराधिक प्रयोजनमा प्रयोग हुन सक्ने गम्भीर जोखिम रहेकाले समयमै सूचना दिएकोमा स्थानीयको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले जेनजी क्रममा भएका आगजनी एवं लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा कानुनी कारबाहीका लागि थप अनुसन्धान अघि बढाइएको जनाएको छ । आन्दोलनको आवरणमा इलाका प्रहरी कार्यालय दमकमा आगजनी एवं आक्रमण गरिएको थियो ।

























