
विराटनगर । प्रहरीले मालपोत कार्यालय विराटनगरबाट २० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ । आज (मंगलबार) कार्यालय परिसरमा पुगेर सादा पोशाकका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाल लेखापढी व्यवसायी संघका प्रतिनिधिहरुले बिना कारण पक्राउ गरिएको बताएका छन् । प्रहरीले यसबारे विस्तृत जानकारी दिएको छैन । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
यसको विरोधमा व्यवसायीहरु आक्रोसित बनेका छन् । उनीहरुले मालपोत कार्यालयमा तालाबन्दी गरी कामकाज ठप्प बनाएका छन् । कर्मचारीहरुलाई कार्यालयभित्रै थुनेर उनीहरुले तालाबन्दी गरेका छन् ।
कुनै गलत कार्य गरेको भए कानुनअनुसार प्रक्रिया पुर्याएर पक्राउ गर्नुपर्नेमा हचुवाका भरमा पक्राउ गरिएको भन्दै व्यवसायीले विरोध जनाएका छन् । पक्राउ परेकाहरुको तत्काल रिहाइ माग गर्दै उनीहरुले नत्र काम ठप्पै पार्ने चेतावनी पनि दिएका छन् ।

























