
काठमाडौं । जेनजी आन्दोलनको आवरणमा प्रहरी कार्यालयहरुबाट लुटिएका अधिकांश हतियार फिर्ता भएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार जिल्लाका प्रहरी कार्यालय, स्थानीय तह र जनप्रतिनिधिसँगको सहकार्यमा करिब ८ सय भन्दा बढी हतियार फेला पारिएको छ । आन्दोलनका समयमा १ हजार २ सय ७१ हतियार लुटिएका थिए । जसमध्ये करिब १ सयवटा जलेका र तोडफोड भएको अवस्थामा भेटिए ।
केही हतियार झाडी र खोलामा लुकाइएका अवस्थामा भेटिएका छन् । प्रहरीले लुटिएका हतियार खोज्न विशेष टोली परिचालन गरेको थियो । हतियार चोरी, बिक्री वितरण गर्ने व्यक्ति पनि पक्राउ परिरहेका छन् ।
अहिलेसम्म काठमाडौंमा मात्रै प्रहरीबाट लुटिएका १ सय ७४ हतियार फिर्ता भएका छन् । काठमाडौंमा ४७ जनाविरुद्ध हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ । प्रहरी प्रवक्ता काफ्ले आगामी निर्वाचनसम्ममा बाँकी हतियार फेला पार्ने प्रयास भइरहेको बताए ।

























