
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ बन्दिपुरका १ जना युवकको गोली लागेर मृत्यु भएको छ ।
२२ वर्षीय आशमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार मृतक आशमानलाई सोमबार आफ्नो घरभन्दा करिब ३ किलोमिटर दक्षिणमा रहेको घ्याङलेख गाउँपालिका–१ पिउरी खोलाको जंगलमा उत्तानो परी नाईटोबाट रगत बगिरहेको अवस्थामा मृत फेला पारिएको थियो ।
मृतकको शव फेला परेको घटनास्थलमा एउटा भरुवा बन्दुक बीच भागमा भाँचिएको अवस्थामा भेटिएको थियो । बन्दुक मृतकले भिरेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
तामाङले भिरेको झोलामा निलो रङको बिर्को भएको बट्टामा बारुदजस्तो देखिने कालो रङको धुलो र रातो बिर्को भएको बट्टाभित्र बारुदजस्तो फलाम र सिसाको टुक्रासमेत भेटिएको एसपी सुवेदीले बताए । शवलाई पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा लगिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जानकारी सुवेदीले दिए । घटनाको प्रकृति हेर्दा मृतक तामाङ आफैँले बन्दुक चलाउँदा पड्किएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘अरुले नै कर्तव्य गरेर मारेको पनि हुनसक्छ । थप कुरा अनुसन्धानपछि खुल्छ,’ प्रहरी स्रोतले भन्यो ।

























