
विराटनगर । विराटनगरबाट १ जना युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–११ बसपार्कबाट ३० वर्षीय पप्पु राम पक्राउ परेका हुन् ।
विराटनगर–१० घर भएका उनलाई प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) १ सय १ ग्रामसहित मंगलबार पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय विराटनगर र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागुऔषध बरामद भएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए ।
रामविरुद्ध लागुऔषध मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
६० किलो गाँजा बरामद
मोरङको जहदा गाउँपालिका–१ कुलरियाबाट प्रहरीले ६० किलो गाँजा बरामद गरेको छ । परालको कुनिउँमा लुकाएर राखेको बेवारिसे अवस्थामा इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले गाँजा बरामद गरेको हो ।
प्रहरीले बरामद गरेर गाँजा नियन्त्रणमा लिएको छ । उक्त गाँजा कसले राखेको हो भनेर यकिन भइसकेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























