
झापा । झापामा ‘प्रेसर कुकर बम’ राखेर सर्वसाधारणलाई त्रसित बनाउने घटनामा फेरि एकपटक पुरानै नाम सतहमा आएको छ ।
सार्वजनिक स्थलमा विस्फोटक पदार्थ राखी राज्यकै शान्ति सुरक्षालाई चुनौती दिँदै आएका सञ्जय भनिने खगेन्द्र खरेल पुनः पक्राउ परेका छन् । यो घटना पनि उनका अघिल्ला गतिविधिसँग ठ्याक्कै मिल्दोजुल्दो रहेको देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत माईखोला माथिको कनकाई पुलको पूर्वतर्फ सडक डिभाइडरमाथि कालो झोलाभित्र प्रेसर कुकर बम राखिएको सूचना पाएलगत्तै प्रहरी र नेपाली सेनाको टोली परिचालित भएको थियो । अत्यन्त जोखिमपूर्ण मानिएको उक्त वस्तुलाई नेपाली सेनाको अरिदमन गणको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेपछि ठूलो मानवीय क्षति टरेको थियो ।
पुस १९ गतेको उक्त घटनाले केही घण्टासम्म राजमार्ग अवरुद्ध भयो । सर्वसाधारणमा भय र आतंक फैलियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाले सुरु गरेको अनुसन्धान अन्ततः ४६ वर्षीय खरेलसम्म पुग्यो । दमक नगरपालिका–१ घर भई हाल कनकाई नगरपालिका–८ सिर्जना टोलमा बस्दै आएका खरेललाई कनकाई–८ लक्ष्मीपुरबाट बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
साथीको घरमा लुकिछिपि बसेको अवस्थामा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार घटनास्थलबाट विस्फोटक सामग्रीसँगै ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा पनि बरामद गरिएको थियो । खरेलले पछिल्लो समय ‘सनातन सुरक्षा सेना नेपाल’ संस्थाको नामबाट अपराधिक गतिविधि गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी ‘सनातन सुरक्षा सेना नेपाल’को संयोजक हुन् ।
यही पर्चा, बम राख्ने शैली, स्थान छनोट र डर सिर्जना गर्ने उद्देश्य खरेलका अघिल्ला गतिविधिसँग मेल खाएपछि उनी प्रहरी निगरानीमा परेका थिए । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार खरेल विस्फोटक पदार्थ प्रयोग गरी आतंक फैलाउने कार्यका पुरानै अभियुक्त हुन् ।
खरेलको नाम बम आतंकसँग जोडिनु नयाँ विषय होइन । २०८१ साल पुसमा सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि र भोटेपुल क्षेत्रमा शंकास्पद प्रेसर कुकर बम फेला परेको थियो । तर, नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको थियो । उक्त घटनामा खरेल पक्राउ परेका थिए ।
त्यसअघि २०७८ साल चैत १४ गते इटहरी–२ नवजागृति टोलस्थित एउटा घरको कोठामा भएको बम विस्फोटमा रविन थापा र शेरजंग गुरुङ घाइते भएका थिए । उक्त घटनाको अनुसन्धान गर्दा खरेलको संलग्नता पुष्टि भएको थियो ।
त्यसैगरी, २०७६ साल वैशाख ३० गते झापाको कनकाईमाई नदीको पुलको रोड डिभाइडरमा विस्फोटक पदार्थ राखी आतंक सिर्जना गरिएको थियो । २०७६ साल असोज ९ गते बिर्तामोड नगरपालिकाको पश्चिम स्टेण्डमा शंकास्पद वस्तु राखिएको थियो ।
२०७८ साल कात्तिक १३ गते दमक नगरपालिका–५ स्थित शिवान चर्चमा शंकास्पद वस्तु राखेर अशान्ति मच्चाइएको थियो । यी सबै घटनाको शैली, स्थान र उद्देश्य एउटै देखिन्छ । ती सबै घटनाको केन्द्रमा खरेलको नाम जोडिएको छ ।
प्रहरी अभिलेखअनुसार खरेल यसअघि विस्फोटक पदार्थ सम्बन्धी कसुरमा दोषी ठहर भई २ वर्ष ५ महिना कैद सजाय भुक्तान गरिसकेका छन् । सजाय पूरा गरेर छुटेपछि पनि उनले आपराधिक गतिविधि नछाडेको प्रहरीको निष्कर्ष छ ।
यही कारण उनी निरन्तर प्रहरी निगरानीमा थिए । अवसर पाएसँगै पुनः सक्रिय भई सार्वजनिक स्थलमा बम राख्ने कार्य दोहोर्याउँदै आएको देखिन्छ । खरेलको पृष्ठभूमि झन् गम्भीर छ ।
उनी पछिल्लो समय सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए । ‘जेनजी आन्दोलन’को मौका छोपेर भदौ २४ गते उनी फरार भएको प्रहरीले जनाएको छ । फरार भएपछि उनी भूमिगत रूपमा सक्रिय रहँदै झापाका विभिन्न स्थानमा बम राखेर त्रास फैलाउने कार्यमा संलग्न रहेको डीएसपी खड्काले बताए ।
प्रहरीका अनुसार खरेल कुनै औपचारिक सशस्त्र समूहको स्पष्ट संरचनामा देखिएका छैनन् । तर, उनले विभिन्न समयमा गोर्खा जन्मुक्ति पार्टी, हिमाल सुरक्षा परिषद नेपाल र पछिल्लो समय ‘सनातन सुरक्षा सेना, नेपाल’जस्ता नाम प्रयोग गर्दै पर्चा सार्वजनिक गर्ने, धम्की दिने र बम राखेर मनोवैज्ञानिक आतंक सिर्जना गर्ने रणनीति अपनाउँदै आएको देखिन्छ ।
यी नामहरू वास्तविक संगठनभन्दा बढी डर र भ्रम सिर्जना गर्न प्रयोग गरिएको प्रहरीको आशंका छ । हाल खरेलमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत राज्यविरुद्धको कसुर, विस्फोटक पदार्थ सम्बन्धी कसुर, सार्वजनिक शान्ति सुरक्षामा खतरा पुर्याएको र संगठित रूपमा आतंक सिर्जना गर्न खोजेको अभियोगमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोलीले खरेलका विगतका सबै मुद्दा, सजाय, फरार अवस्था र गतिविधिलाई एकीकृत रूपमा अध्ययन गर्दै विस्तृत अनुसन्धान अघि बढाएको छ ।
तर, बारम्बार उही व्यक्तिले सार्वजनिक स्थलमा विस्फोटक पदार्थ राख्दै आतंक फैलाउने घटनामा संलग्न हुनले सबैलाई आश्चर्यचकित बनाएको छ । खरेलको पक्राउसँगै स्थानीयले तत्काल राहत महसुस गरे पनि यस्ता व्यक्तिबाट उत्पन्न हुने जोखिम दीर्घकालीन रूपमा कसरी नियन्त्रण गर्ने भन्ने चुनौती अझै कायम रहेको प्रहरी अधिकारीहरू स्वीकार गर्छन् ।

























