
विराटनगर । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मोरङमा ४ हजार ३ सयभन्दा बढी म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना गरिने भएको छ ।
मोरङमा निर्वाचन प्रहरीको माग गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मोरङको ६ वटा निर्वाचन क्षेत्रका लागि ४ हजार ३ सय ८३ जना म्यादी प्रहरी छनोट हुनेछन् । उनका अनुसार निर्वाचन प्रहरीको माग गरिएसँगै शुक्रबार बिहानबाट जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा आवेदन दिनका लागि युवायुवतीको भिड लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको निर्वाचन सेलका इन्स्पेक्टर अभिषेककुमार श्रेष्ठ नेतृत्वको टोलीले म्यादीमा भर्ना हुन चाहनेको आवेदन लिइरहेको छ । आवेदन माघ १ गतेसम्मका लागि खुला गरिएको छ ।
म्यादी प्रहरी हुनलाई १८ वर्ष पूरा भइ ५४ वर्ष नघाघेका व्यक्तिले आवेदन दिन सक्ने एसपी कटवालको भनाइ छ । म्यादीमा भर्ना भइसकेपछि उनीहरुलाई सरकारले तोकेबमोजिमको सेवा सुविधा उपलब्ध गराइने छ ।
म्यादी प्रहरीमा भर्ना हुनलाई नेपाली नागरिकसँगै फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रुपमा स्वस्थ्य, आतंककारी तथा विध्वंसकारी संगठनमा आबद्धता नभएकाहरुले आवेदन दिन सक्ने जानकारी कटवालले दिए ।

आवेदन दिनका लागि युवायुवतीमा विशेष आकर्षण देखिएको छ । एसपी कटवालका अनुसार आवश्यक मापदण्ड पूरा गरेपछि छनोटमा परेका निर्वाचन प्रहरीलाई मतपेटिका सुरक्षा, भिडभाड व्यवस्थापनलगायतका सुरक्षात्मक विषयमा तालिम दिइनेछ ।































