
विराटनगर । विराटनगर महानगरपालिका–१७ स्थित आईसीपी रोडबाट ठूलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित ३ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा सवार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले दिउँसो १ बजेतिर पक्राउ गरेको हो । बीआर ३८ एपी ९०४९ नम्बरको मोटरसाइकलमा सवार भारत बिहारको अररिया जिल्ला खैराखगरा–४ का १९ वर्षीय राजकुमार साह, २० वर्षीय सेठू कुमार र २० वर्षीय रोशन कुमारलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
उनका अनुसार भारतबाट एउटै मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरुलाई शंका लागेर प्रहरीले रोकेको थियो । मोटरसाइकल रोकेर चेकजाँच गर्दा पछाडि सवार राजकुमारको साथबाट १ सय ४ ग्राम ब्राउन सुगर बरामद भएको जानकारी चुँडालले दिइन् ।
राजकुमारले देभगन्ध लेखिएको धूपको बट्टाभित्र लुकाइछिपाइ राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको ब्राउन सुगर र नियन्त्रणमा लिइएको मोटरसाइकसहित तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ परेकाहरु नेपालमा लागुऔषध ‘सप्लाई’ गर्न आएको हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरुमाथि इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

























