
विराटनगर । झापाको गौरीगञ्ज गाउँपालिकाको भिन्दैभिन्दै स्थानबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित ३ जना पक्राउ परेका छन् ।
गौरीगञ्ज–३ टटुवामारीस्थित यादव टोलबाट ३४ वर्षीय मानफकुमार मेहता आइतबार दिउँसो करिब ४ः३० बजेतिर पक्राउ परेका छन् । मेहताको साथबाट ३ ग्राम २ सय ५० मिलिग्राम तथा घरबाट ३ ग्राम ७ सय ५० मिलिग्रामसहित गरेर ७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
मेहताको साथबाट लागुऔषध नापतौल गर्न प्रयोग हुने डिजिटल तराजु पनि प्रहरीले बरामद गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै, शनिबार राति ९ः३० बजेतिर गौरीगञ्ज–६ मुस्लिम टोलबाट २ जना पक्राउ परेका छन् । २२ वर्षीय मोहम्मद रहिम मियाँ र १८ वर्षीय सक्षम उप्रेती पक्राउ परेका हुन् ।
मियाँको साथबाट १ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । उनीसँग सम्पर्कमा रहेका उप्रेतीलाई पनि प्रहरीले पछि पक्राउ गरेको हो ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय गौरीगञ्जको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । ब्राउन सुगरसहित पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

























