
बेलबारी । मोरङको बेलबारीमा जारी दोस्रो बेलबारी महोत्सवको चौथो दिन सोमबार (आज) साँगीतिक क्षेत्रका २ चर्चित ताराहरू कमल खत्री र बबिना किराँतीले आफ्नो प्रस्तुति दिने भएका छन् ।
बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा गत पुस २५ गतेदेखि सुरु भएको महोत्सवमा आजको मुख्य आकर्षणका रूपमा यी २ कलाकार रहने छन् ।
आफ्नो सुमधुर स्वर र रोमान्टिक गीतका कारण युवापुस्तामा लोकप्रिय रहेका गायक कमल खत्रीले आफ्ना चर्चित हिट गीत आत्मामा, जाउँला रेलैमा, पहिलो माया फकाउनै जान्दैन, सहन सक्दिनँ म, फिक्का फिक्का लगायतका प्रस्तुतिमार्फत बेलबारीवासीलाई झुमाउने छन् ।
त्यसैगरी, पूर्वेली लोक गायनमा छुट्टै पहिचान बनाएकी गायिका बबिना किराँतीको पनि विशेष प्रस्तुति रहने छ। स्थानीय व्यापार, कृषि र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा विभिन्न व्यावसायिक स्टलका साथै दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहँदै आएको छ । आयोजकले आज बेलुकी ६ बजेदेखि महोत्सव स्थलमा प्रवेशका लागि सबैमा अनुरोध गरेको छ ।
महोत्सव अवधिभर उल्लेख्य संख्यामा दर्शकहरूको उपस्थिति रहने र यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास आयोजक बेलबारी उद्योग वाणिज्य संघले लिएको छ।

























