
काठमाडौँ। नेपाली कांग्रेसको आधिकारिकता र विशेष महाधिवेशनको वैधानिकतालाई लिएर सुरु भएको विवाद अब सर्वोच्च अदालतको इजलासमा पुगेको छ। गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमाथि आज (मंगलबार) सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतले उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेसी तोकेको छ। देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार दर्ता गराएको यस रिटलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न र गगन थापा नेतृत्वको समितिलाई कुनै पनि कामकारबाही गर्न नदिन अन्तरिम आदेशको माग गरिएको छ।
देउवा पक्षले विशेष महाधिवेशन विधानविपरीत र अवैध रहेको दाबी गरेको छ। निर्वाचन आयोगले एकपक्षीय रूपमा गगन थापा समूहलाई आधिकारिकता दिएको भन्दै सो निर्णयले पार्टीको विधि र पद्धतिमा गम्भीर आघात पुर्याएको उनीहरूको जिकिर छ। आगामी निर्वाचनको मनोनयन नजिकिँदै गर्दा अदालतबाट तत्काल न्याय नपाए पार्टीलाई अपूरणीय क्षति पुग्ने दाबी पनि रिटमा गरिएको छ।
यसअघि निर्वाचन आयोगले बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा सम्पन्न विशेष महाधिवेशन रितपूर्वक भएको ठहर गर्दै माघ २ गते गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको थियो। सो निर्णयसँगै थापाले पार्टीको नेतृत्व सम्हालेका छन्। यो सुनुवाइले नेपाली कांग्रेसको भविष्य र आसन्न निर्वाचनमा उम्मेदवारी दिने आधिकारिकता कसको हुने भन्ने कुराको निकै हदसम्म छिनोफानो गर्ने अपेक्षा गरिएको छ।

























