
उदयपुर । उदयपुर जिल्लामा गाँजा ओसारपसारका लागि बालकको समेत प्रयोग गरिएको तथ्य खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले १४३ किलो गाँजासहित १ जना युवक र २ जना नाबालकलाई पक्राउ गरेको छ । घटनाले उदयपुरमा गाँजा कारोबारीहरूले बालबालिकालाई जोखिमपूर्ण अपराधमा प्रयोग गर्न थालेको गम्भीर संकेत दिएको छ ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा बुधबार राति करिब ८ः४० बजे बेलका नगरपालिका–७ स्थित कान्चिराङ क्षेत्रमा निगरानी बढाइएको थियो । सोही सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरी टोलीले कान्चिराङबाट खमारेतर्फ बोरामा प्याक गरिएको सामान बोकेर पैदल हिँड्दै गरेका ३ जनालाई शंकास्पद अवस्थामा रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा उनीहरूले बोकेको बोराबाट ठूलो परिमाणमा अवैध गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा बेलका नगरपालिका–७ खमारेका २१ वर्षीय उमेश राई र २ जना नाबालक रहेका छन् ।
उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार प्रारम्भिक अनुसन्धानमै उनीहरू गाँजा ओसारपसारमा संलग्न रहेको खुलेको हो । बरामद गाँजाको तौल करिब १४३ किलोग्राम रहेको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरी अनुसन्धानबाट पक्राउ परेका तीनै जना स्थानीय बासिन्दा भएको खुलेको छ । विशेषगरी नाबालकलाई समेत गाँजा बोक्न प्रयोग गरिएको तथ्यले अभिभावक, समाज र राज्य संयन्त्र सबैका लागि गम्भीर प्रश्न खडा गरेको छ ।
प्रहरीका अनुसार लागुऔषध कारोबारीहरूले कानुनी जोखिम कम गर्न र सुरक्षाकर्मीको निगरानी छल्न बालकलाई प्रयोग गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको देखिएको छ । उदयपुरमा यसअघि पनि ठूलो परिमाणमा गाँजा बरामद हुँदै आएको छ ।
गत पुस ११ गते चौदण्डीगढी नगरपालिका–३ पैतालिस चोकमा गरिएको सवारी चेकजाँचका क्रममा प्रहरीले ७६३ दशमलव ७६ किलोग्राम गाँजा बरामद गरेको थियो । लगातार ठूलो परिमाणमा गाँजा बरामद भइरहनुले उदयपुर लागुऔषध ओसारपसारको एउटा महत्वपूर्ण ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको आशंका प्रहरीको छ ।
बुधबार राति पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखेर थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार गाँजा कहाँबाट ल्याइएको हो, कहाँ पुर्याउने तयारी थियो र यसको पछाडि संगठित समूह वा मुख्य कारोबारी को हुन् भन्ने विषयमा अनुसन्धान केन्द्रित छ ।
साथै, यस घटनासँग जोडिएका अन्य व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी कडा बनाइएको र विशेष गरी बालबालिकालाई अपराधमा प्रयोग गर्ने जो–कोहीलाई कानुनको दायरामा ल्याइने जनाएको छ ।
सरोकारवालाहरुले नाबालकलाई अपराधबाट जोगाउन अभिभावकको भूमिका, समुदायको सजगता र राज्यको प्रभावकारी हस्तक्षेप अपरिहार्य भएको बताएका छन् ।

























