
झापा । झापा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र उच्च राजनीतिक तापक्रमबीच हुने प्रतिनिधिसभा निर्वाचनको जिम्मेवारी अब १ महिलाको काँधमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हालेकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले औपचारिक रूपमा कार्यभार सम्हाल्दै झापामा अब सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट पारेकी छन् । गृह मन्त्रालयले देशभर ४८ जना एसपीको एकैपटक सरुवा गर्ने क्रममा झापाजस्तो संवेदनशील जिल्लाको जिम्मा खड्कालाई सुम्पनुलाई सामान्य प्रशासनिक निर्णयभन्दा पनि रणनीतिक कदमका रूपमा हेरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन, बढ्दो राजनीतिक चहलपहल, सीमावर्ती अपराध, संगठित आपराधिक गतिविधि र खुला सीमा व्यवस्थापनजस्ता जटिल चुनौतीका बीच अब झापाको प्रहरी नेतृत्व कम्तीमा १ वर्ष महिलाले सम्हाल्ने निश्चित भएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन साह (बालेन्द्र) चुनावी प्रतिस्पर्धामा रहेकाले झापा–५ लाई निक्कै चासोका कारण हेरिएको छ ।
कमाण्ड सम्हालेसँगै नेपाल प्रहरीकी एसपी खड्काले मातहतका प्रहरीलाई निर्देशन दिँदै शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउनु पहिलो दायित्व भएको स्पष्ट पारेकी छन् । सरुवा भएर गएका एसपी राजन लिम्बूको विदाइ तथा नयाँ प्रहरी प्रमुखको स्वागत कार्यक्रममा बोल्दै खड्काले निर्वाचन सुरक्षामा कुनै पनि किसिमको लापरबाही हुन नहुने बताइन् ।
प्रहरी स्रोतका अनुसार उनले निर्वाचन लक्षित सुरक्षा योजना तत्काल कार्यान्वयनमा ल्याउन, जिल्लाभरका युनिटको नियमित अनुगमन गर्न, फाँटगत गतिविधि प्रत्यक्ष बुझ्न र आवश्यक परे कठोर निर्णय लिन पछि नपर्ने सन्देश दिएकी छन् । झापा आइपुगे लगत्तै एसपी खड्काले क्षेत्र नम्बर ५ अन्तर्गतको दमक क्षेत्रको सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिएकी छन् ।
उच्च जनघनत्व, तीव्र राजनीतिक गतिविधि र विगतका अनुभवका आधारमा दमकलाई निर्वाचन सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रका रूपमा विश्लेषण गर्दै उनले स्थानीय प्रहरी नेतृत्वसँग समन्वय बैठक गरेकी थिइन् । सो क्रममा उनले सम्भावित चुनौती, निर्वाचन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि, भिड व्यवस्थापन, चेकजाँच प्रणाली र सूचना संकलन संयन्त्रलाई थप मजबुत बनाउने विषयमा स्पष्ट निर्देशन दिइएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार दमक, बिर्तामोड र मेचीनगर क्षेत्रलाई विशेष निगरानी क्षेत्रका रूपमा राखेर सुरक्षा रणनीति बनाइँदैछ । निर्वाचन अवधिभर गस्ती बढाउने, सवारीसाधन र व्यक्तिको सघन जाँच गर्ने, सूचनाको आदानप्रदानलाई छिटो र प्रभावकारी बनाउने तथा कुनै पनि किसिमको हिंसा, धम्की वा अवैध गतिविधि हुन नदिने लक्ष्य लिइएको छ ।
यसपटक झापा–५ निर्वाचन क्षेत्र उच्च प्रोफाइल प्रतिस्पर्धाका कारण राष्ट्रिय चर्चामा छ । ओली र बालेनसहितका चर्चित अनुहारको प्रतिस्पर्धाले चुनावी माहोल तातिएको छ ।
ठूला दल, नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारको भिडन्तले यो निर्वाचनलाई राजनीतिक रूपमा मात्रै नभएर सुरक्षाका दृष्टिले पनि अत्यन्त संवेदनशील बनाएको छ । यही कारण गृह मन्त्रालयले झापाको प्रहरी नेतृत्वमा अनुभवी र कडा निर्णय लिन सक्ने अधिकारी आवश्यक ठानेर एसपी खड्कालाई पठाएको हो ।
एसपी खड्का निर्वाचन मात्रै नभएर जिल्लामा बढ्दै गएको अपराध नियन्त्रण र अनुसन्धानलाई पनि प्राथमिकतामा राख्ने बताउँछिन् । खुला सीमा, मानव बेचबिखन, लागुऔषध कारोबार, संगठित चोरी, सवारी दुर्घटना र साइबर अपराधजस्ता चुनौती झापामा प्रहरीका लागि निरन्तर टाउको दुखाइ बनेका छन् ।
प्रहरीको नयाँ नेतृत्वसँगै अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउने, ढिलासुस्ती र लापरबाहीमा शून्य सहनशीलता अपनाउने र पीडितमुखी प्रहरी सेवा प्रवाह गर्ने नीति अघि सारिएको छ । ‘म नयाँ छु । त्यसैले हरेक दिन मातहतका प्रहरीसँग संवाद गर्दै जिल्लाको वास्तविक अवस्था बुझ्दै छु,’ एसपी खड्काको भनाइ उद्धृत गर्दै १ प्रहरी अधिकारीले बताए ।
उनका अनुसार एसपी खड्काले निर्वाचन सफल नभएसम्म शान्ति सुरक्षा नै पहिलो प्राथमिकता हुने स्पष्ट निर्देशन दिएकी छन् । निर्वाचन र अनेक चुनौतीबीच झापामा महिलाको नेतृत्वमा प्रहरी परिचालन हुनुले प्रशासनिक परिवर्तनसँगै चुनौतीपूर्ण समयमा नेतृत्व क्षमताको वास्तविक परीक्षा पनि हो ।
प्रतिस्पर्धात्मक चुनाव, बढ्दो राजनीतिक दबाब, अपराध नियन्त्रण र सीमावर्ती सुरक्षा व्यवस्थापनबीच १ वर्ष झापाको शान्ति सुरक्षाको जिम्मेवारी महिला प्रहरी अधिकृतको नेतृत्वमा अघि बढ्नेछ । नयाँ एसपीको आगमनसँगै झापामा प्रहरी संयन्त्र थप सक्रिय, सतर्क र कडा बन्ने संकेत मिलेको छ ।

























