
विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा आइतबार भएको मतदानमा १४ जना जनप्रतिनिधि अनुपस्थित भएका छन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान प्रक्रियामा ५ जना प्रदेश सभा सदस्य र ९ जना स्थानीय तहका पदाधिकारी सहभागी भएनन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रको निर्णयअनुसार निर्वाचन बहिष्कार गर्ने नीति लिएकाले कोशीमा मतदाताको सङ्ख्या घटेको हो। कोशी प्रदेश सभामा राप्रपाका ६ जना सांसद रहेका थिए। तीमध्ये संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन प्रदेश सांसद पदबाट राजीनामा दिइसकेका छन्। बाँकी ५ जना सांसदहरू सभामुख अम्बरबहादुर विष्टसहित गोपालबहादुर विश्वकर्मा, नीमसरी राजवंशी, प्रेमराज थामसुहाङ र सबिना बजगाईंले मतदान गरेनन्।
स्थानीय तहतर्फ पनि राप्रपाबाट निर्वाचित जनप्रतिनिधिहरूले मतदानमा भाग लिएनन्। मतदान नगर्नेहरूमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, भद्रपुरकी उपप्रमुख राधा कार्की, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष लक्ष्मीदेवी मैनाली लगायत रहेका छन्। कोशी प्रदेशका १३७ पालिकाका कुल २७४ जनप्रतिनिधिमध्ये ६ जनाले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका छन् भने एक जना भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका छन्।
कोशी प्रदेशमा कुल ९३ प्रदेश सभा सदस्य र २७४ पालिका प्रतिनिधि मतदाता रहेका थिए। तर, राजीनामा र बहिष्कारका कारण अन्तिममा ८७ प्रदेश सांसद र २५८ स्थानीय तहका प्रतिनिधिले मात्रै मतदान गरेका हुन्। यस प्रदेशमा अन्य समूहबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। आज भएको मतदान महिला र दलित कोटाका रिक्त दुई पदका लागि हो। मतदान सकिएसँगै अहिले गणनाको तयारी भइरहेको छ।

























