
काठमाडौँ । आफूलाई ‘जेनजी’ अभियन्ता भन्दै सरकारी कार्यालयहरूमा पुगेर धम्की दिने गरेका अर्जुन शाही पुनः पक्राउ परेका छन् । बुधबार साँझ ठमेलको कालधाराबाट पक्राउ परेका शाहीमाथि प्रहरीले अहिले ठगी र बैंकिङ कसुरको मुद्दामा अनुसन्धान अघि बढाएको छ । अहिले उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शाहीविरुद्ध दुईवटा मुख्य उजुरी परेका छन् ।एक व्यक्तिको ८ तोला बराबरको सुन ठगी गरेको र ११ लाख रुपैयाँ बराबरको चेक बाउन्स (बैंकिङ कसुर) गरेको उजुरी परेका छन् ।
प्रहरीले यी दुवै कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको छ । अछाम घर भएका २६ वर्षीय शाहीले ‘जेनजी आन्दोलन’को नाममा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवेदनशील निकायमा पुगेर अनुगमन र ज्ञापनपत्र बुझाउने बहानामा कर्मचारीहरूलाई धम्क्याउने गरेको प्रहरीको दाबी छ ।
शाही पक्राउ परेको यो पहिलो पटक भने होइन । उनी यसअघि पनि पटक-पटक कानुनी फन्दामा परिसकेका छन् । पहिलो पटक वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा अपराध अनुसन्धान कार्यालयबाट पक्राउ, दोस्रो पटक जेनजी आन्दोलनपछि कोटेश्वरबाट पक्राउ परी धरौटीमा छुटेका थिए । तेस्रो पटक अहिले ठगी र बैंकिङ कसुरमा कालधाराबाट पक्राउ परेका छन् ।

























