तस्बिर : एआईविराटनगर । खानामा काकी सासू र काका ससुरालाई विष मिसाएर खुवाउने मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बस्दै आएकी ३२ वर्षीया सुनिता कार्की कारागार चलान भएकी छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले सुनितालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न बिहीबार आदेश दिएको थियो । अदालतले थुनामा राख्न आदेश दिएलगत्तै उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको जानकारी अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले दिए ।
सुनिताले मंसिर २० गते काकी सासू ७७ वर्षीया इन्द्रमाया राई र काका ससुरा ७० वर्षीय भक्तबहादुर राईलाई खाना विष मिसाएर खुवाएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । विष मिसाएर खुवाउँदा इन्द्रमायाको मृत्यु भएको थियो । भक्तबहादुर विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार गराएर निको भएपछि फर्किएका छन् ।
सुनिताविरुद्ध प्रहरीले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै मोरङ अदालतमा मुद्दा दायर गरेको हो ।
अदालतमा सुनिताको बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएको थियो । थुनछेक बहस सकिएपछि तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको अदालतका सूचना अधिकारी बुढाथोकीले बताए ।
‘घरमा धेरै कराएको रिसमा आफूले काकी सासू र काका ससुरालाई खानामा विष मिसाएर खुवाएको’ बयान सुनिताले दिएकी छन् । ७० वर्षीय भक्तबहादुर मंसिर २० गते दिउँसो घरनजिकको खोल्सामा बेहोस अवस्थामा भेटिएका थिए । स्थानीयले उद्धार गरेर घरमा ल्याउँदा उनकी पत्नी ७७ वर्षीया इन्द्रमायासमेत बेहोस अवस्थामा ढलिरहेकी थिइन् ।
घर वरपर हेर्दा खोरमा रहेका ३ वटा कुखुरासमेत मरिरहेको अवस्थामा भेटिए । बेहोस अवस्थामा भेटिएका वृद्ध दम्पतीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
आईसीयूमा उपचाररतमध्ये इन्द्रमायाको मृत्यु भएको हो । त्यसै दिन प्रहरीले भतिजी बुहारी सुनितालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको थियो । अँगेनोमा हालेर जलाइएको अवस्थामा विषादीको बट्टा पनि घटनास्थलबाट प्रहरीले बरामद गरेको थियो ।
प्रहरीको अनुसन्धानबाट सुनीताले वृद्ध अवस्थाका सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको पत्ता लागेको छ । वृद्ध दम्पतीले आफूले खाएर उब्रिएको खाना कुखुरालाई खुवाएका थिए । त्यसले खुकुरा पनि मरेको पाइएको हो ।
भक्तबहादुर राई र इन्द्रमाया राईका आफ्ना सन्तान छैनन् । वृद्ध दम्पतीसँग भतिजो प्रशान राई र उनकी श्रीमती सुनीता कार्की बस्दै आएका थिए । प्रशान घर बाहिर रहेका बेला सुनीताले भने वृद्ध अवस्थाका सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको अनुसन्धानबाट पत्ता लागेको छ ।

























