
सर्लाही । सर्लाही जिल्लामा वन संरक्षणको जिम्मेवारीमा खटिएका १ जना वन रक्षक (चौकीदार)को अत्यन्तै निर्मम तरिकाले हत्या भएको अवस्थामा शव फेला परेको छ ।
घटनापछि त्रास फैलिएको छ । ईश्वरपुर नगरपालिका–२, राइटरखोरस्थित सागरनाथ वन विकास परियोजनाको जंगलभित्र वन काचौकीदार ४७ वर्षीय रामेश्वर महतोको टाउको छिनालिएको अवस्थामा शव फेला परेको हो । मृतकको टाउको भने हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महतो शनिबार बिहान करिब ५ बजे घरबाट साइकल लिएर ड्युटीमा निस्केका थिए । बिहान जंगलतर्फ रूख काटिएको आवाज आएपछि उनी त्यतै गएको जानकारी परिवारले प्रहरीलाई दिएको छ ।
तर, दिउँसोसम्म उनी न घर फर्किए, न त फोन सम्पर्कमै आए । मोबाइल फोनसमेत स्वीच अफ भएपछि परिवार र परियोजनाका कर्मचारीले खोजी सुरु गरेका थिए ।
उनको खोजी गर्दै सागरनाथ वन विकास परियोजनाका कर्मचारी र सुरक्षाकर्मीको संयुक्त टोली जंगलभित्र पसेको थियो । दिउँसो करिब १ः२० बजेतिर जंगलको झाडीमा बन्चरो प्रहार गरी घाँटी छिनालिएको अवस्थामा रामेश्वरको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलबाट रगत लागेको बन्चरोसमेत बरामद गरिएको छ ।
सर्लाही प्रहरीका डीएसपी सरोज राईका अनुसार तालिमप्राप्त कुकुर प्रयोग गरी अनुसन्धान भइरहेको छ । कुकुरले घटनास्थलबाट केही पर रहेको पोखरीतर्फ संकेत गरेपछि उक्त क्षेत्रमा खोजी तीव्र पारिएको छ । आवश्यक परे पोखरीमा जाल हाल्ने वा पानी सुकाएर टाउको खोज्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले महतोको हत्या वन तस्करसँगको सम्भावित भिडन्तका क्रममा भएको हुन सक्ने बताएका छन् । उनले वन संरक्षणका क्रममा ज्यान गुमाएका रामेश्वरलाई ‘वन संरक्षण सहिद’ घोषणा गर्नुपर्ने माग गरेका छन् ।
प्रहरीले हत्यामा संलग्न भएको आशंकामा १ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको छ । ती व्यक्तिमाथि सोधपुछ गर्दै महतोको हत्यामा संलग्न हुन् कि हैनन् भनेर प्रहरीले यकिन गर्ने काम गरिरहेको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको डीएसपी राईले बताए ।

























