
काठमाडौँ । नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई समेटेर निर्माण गरिएको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड युट्युबमार्फत सार्वजनिक भएका छन्। म्युजिक नेपालको युट्युब च्यानलमार्फत रिलिज गरिएको यस सिरिजले दर्शकलाई शुद्ध मनोरञ्जनका साथै समसामयिक सामाजिक विषयमा तिखो व्यङ्ग्य समेत प्रस्तुत गरेको छ।
सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका सागर ज्ञवालीले यसै सिरिजमार्फत निर्देशनमा डेब्यु गरेका हुन्। हाल चलचित्र ‘मालती मंगले’ निर्माणमा व्यस्त रहेका ज्ञवालीले दर्शकको प्रतिक्रिया राम्रो आएमा ‘लट्ठक’ को दोस्रो सिजन पनि ल्याउने बताएका छन्। साथै, उनले छिट्टै आफ्नै निर्देशनमा नयाँ चलचित्र घोषणा गर्ने तयारी समेत गरिरहेका छन्।
सिरिजमा अनुभवी अभिनेता सुभाष गजुरेल ‘स्वाहा बाजे’ को भूमिकामा देखिएका छन् भने ‘होस्टेल रिटर्न्स’ फेम अभय राज बराल र अभिनेत्री शकु शाहको सशक्त अभिनय रहेको छ। सिरिजमा कविता आले, रोकीत कार्की, रणजीत राणा लगायत दुई दर्जन कलाकारहरूको अभिनय देख्न सकिन्छ।
म्युजिक नेपाल र ओरिजिनल मिडियाको प्रस्तुतिमा निर्माण भएको यस सिरिजको कथा काजी लिम्बुले लेखेका हुन् भने नारायण जी.सी.ले छायाङ्कन र अनिल कुमार महर्जनले सम्पादन गरेका छन्। ग्रामीण जीवनशैली र सामाजिक विसङ्गतिलाई सरल तर प्रभावकारी रूपमा प्रस्तुत गर्नु नै ‘लट्ठक’ को मुख्य विशेषता रहेको निर्माण पक्षको दाबी छ।



















