फाइल फोटो ।विराटनगर । विराटनगरबाट स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित १ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।
भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह रहेका छन् ।
साहलाई विराटनगर महानगरपालिका–१३ स्थित दिव्य ज्योति आँखा अस्पताल अगाडिबाट दिउँसो १ः४५ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार साहले लगाएको हेल्मेट र शरीरको विभिन्न भागमा लुकाइछिपाइ राखिएको अवस्थामा स्रोत नखुलेको ३ लाख ९९ हजार ९ सय ५० रूपैयाँ फेला परेको थियो ।
साहको साथबाट १ हजार दरका ३०, ५ सय दरका ५ सय ३६, १ सय दरका १ हजार १९ र ५० को एउटा नोट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शंकास्पद रूपमा नेपाल प्रवेश गरेका उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।
साहले स्रोत खुलाउन नसकेपछि रकमसहित उनलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको डीएसपी चुँडालको भनाइ छ । उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
बरामद भएको रकम र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

























