नेपालमै पहिलो पटक दूध दुहुने रियालिटी शो ‘दूध’ सुरु हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २२, मंगलबार १२:२३

चितवन । नेपालमा पहिलो पटक पशुपालक किसानहरूलाई लक्षित गर्दै दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ। चितवनका व्यावसायिक पशुपालक किसानहरूबीच प्रतिस्पर्धा गराइने यो कार्यक्रममा भरतपुरका २० जना किसानहरूलाई छनोट गरिएको छ।

कार्यक्रमका निर्माता रविन सुवेदीका अनुसार यस शोमा किसानको दूध दुहुने सीप मात्र नभई पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ र दूधको शुद्धता जस्ता विभिन्न पक्षहरूको प्राविधिक मूल्याङ्कन गरिनेछ। पशुपालनका माध्यमबाट आर्थिक उन्नति गरेका मेहनती किसानको सम्मान र नयाँ पुस्तालाई यस क्षेत्रतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम निर्माण गरिएको सुवेदीले जानकारी दिए।

Advertisement

किसानलाई ‘आइडल’ बनाउने लक्ष्य राखेको यो कार्यक्रम एपी वान टेलिभिजन, ‘मेरो सेरोफेरो’ युट्युब च्यानल र सिनर्जी एफएमबाट प्रत्येक मंगलबार साँझ प्रसारण हुनेछ। कार्यक्रमको संयोजक गोविन्द न्यौपानेका अनुसार किसानको गोठमै विज्ञ, जनप्रतिनिधि र प्राविधिक पुगेर गरिने यो प्रतियोगिताले परम्परागत कृषि कार्यक्रमको ढाँचामा नयाँपन दिनेछ।

यस कार्यक्रमलाई ‘खेती’ ले मुख्य प्रायोजन गरेको छ भने भरतपुर महानगरपालिका प्रवर्द्धकका रूपमा रहेको छ। निर्णायक मण्डलमा वरिष्ठ कृषि अर्थ विज्ञ तेजेन्द्रप्रसाद पौडेल, डा. शत्रुघन शाह, भगिरथ तिमिल्सेना र डा. यज्ञराज पाण्डे जस्ता विज्ञहरू रहेका छन्। यो शोले कृषि र पशुपालनमा लागेका किसानहरूको सङ्घर्षलाई रोचक ढङ्गले समाजमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.