
विराटनगर । मलद्वारमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) लुकाएर ल्याउने १ जना बुधबार दिउँसो मोरङमा पक्राउ परेका छन् ।
सुनवर्षी नगरपालिका–१ र २ को सिमानामा पर्ने गिरदलिया भित्री सडक खण्डबाट प्रहरीले २९ वर्षीय विवेक तिमल्सिनालाई पक्राउ गरेको हो । पथरीशनिश्चरे नगरपालिका–६ का तिमल्सिना बा ३७ प ४०० नम्बरको मोटरसाइकलमा सवार थिए ।
प्रहरी चौकी अमरदहबाट खटिएको टोलीले डाइनियाबाट पथरीतर्फ जाँदै गरेको मोटरसाइकल रोकेर उनलाई दिउँसो १ बजेतिर पक्राउ गरेको हो । तिमल्सिनाको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो ।
खानतलासीका क्रममा तिमल्सिनाले मलद्वारमा प्लास्टिकको पोका बनाई लुकाइछिपाइ ल्याएको अवस्थामा लागुऔषध खेरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ ।
खैरो हेरोइन र मोटरसाइकलसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । तिमल्सिनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























