
काठमाडौं। विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार चलचित्रमा समावेश ‘तिमी मै सँग भई राख है’ बोलको प्रेमिल गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतको भिडियोमा चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन्। देवेन्द्र बब्लुकै शब्द र स्वर रहेको यस गीतमा दीपक शर्मा र एचबीएन किस्मतले संगीत भरेका छन्। भिडियोमा यी दुई कलाकारको जोडी निकै स्वभाविक र आकर्षक देखिएको छ। प्रेम र यात्राको कथा भनिएको यस गीतमा दुई पात्रबीचको आत्मीयता र भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
भिडियोको सुरुवातमा मुख्य पात्र (देबेन्द्र बब्लु) आफ्ना पुराना पदक र तस्बिरहरू नियाल्दै विगतको सम्झनामा हराएको देखिन्छन्। त्यसपछि देबेन्द्र र रोशनीबीचको प्रेममय यात्रा सुरु हुन्छ। बाग्लुङको ढोरपाटन र आसपासका क्षेत्रहरूमा खिचिएको भिडियोमा हिउँले ढाकिएका पहाड र स्थानीय बस्तीहरूले एउटा सुन्दर ‘ट्राभल ब्लग’को झल्को दिन्छ। भिडियोको अन्त्यतिर रोशनीको भक्कानिएर रोएको दृश्य र देबेन्द्रको मौनताले दर्शकलाई भावुक बनाउँछ।
‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको यस चलचित्रमा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन्। साथै प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल लगायतका कलाकारको समेत अभिनय रहेको छ। चलचित्रको छायांकन काठमाडौं, पोखरा र ढोरपाटनका रमणीय स्थलहरूमा गरिएको छ।
लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता प्रकाश आले र राजन केसी हुन्। विकास गन्दर्भको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको यस चलचित्रले सन् २०२६ भित्रै देशभरका हलमा रिलिज हुने लक्ष्य लिएको छ। गीतको भाव र भिडियोको प्रस्तुतिले चलचित्र एउटा गम्भीर र भावनात्मक प्रेमकथामा आधारित रहेको संकेत गरेको छ।



















